‘अविश्वासको प्रस्ताव ल्याउने कसैको ल्याकत छैन’- प्रम ओली

काठमाडौँ-  प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने दावी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत नदेखिएको टिप्पणी गरेका हुन्।  ‘यो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन, अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत देखिएको पनि छैन । ल्याउने भए पुनःस्थापना भएसँगै ल्याउँथ्यो, अब त्यो सम्भावना छैन,’ ओलीले भने ।

ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल समूह एमाले विभाजनमा लागेको आरोप लगाउँदै कार्यकर्ता भेलाको नाममा पार्टीहित विपरीत काम गर्नेहरूले माफी माग्नुपर्ने बताए । नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंकको संज्ञा दिंदै उनलेभने, ‘त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिन्छ । सच्चिएर आत्मालोचना गरेर आए सोच्न सकिन्छ, नत्र कारबाहीको प्रक्रिया अघि बढ्छ, बढाइन्छ ।’

उनले एक फरक प्रसंगमा प्रचण्डलाई माधव नेपालसँग तुलना पनि गरे । नेपालभन्दा दाहाल प्रष्ट भएको उनले संकेत गरे । ‘बरु प्रचण्ड ह्वाङ्गै, छ्याङ्गै छन् । बुटवल र सिन्धुलीबाट सबै कुरा छ्याङै पारे,’ उनले भने ।

आफूलाई पार्टी सदस्यबाट हटाएको विगतलाई स्मरण गराउँदै उनले भने, ‘मलाई त अध्यक्ष र पार्टी सदस्यबाट हटाए, धन्न मेरो नागरिकता खोसेनन् । उनीहरुले पार्टी र झण्डा चुनाव चिन्ह कब्जा गर्न खोजेका थिए । केपी ओली भएसम्म त्यो सपना नदेखे हुन्छ ।’

यस्तै ओलीले नेता वामदेव गौतमलाई एकताको कुरा छाड्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?