चिशङ्खुगढीको वन क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर

RSS
0
Shares

ओखलढुंगा- चिशङ्खुगढीको वन क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन् । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् । आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले जानकारी दिए ।

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण आगो निभेका क्षेत्रमा पुनः सल्किएपछि सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?