काठमाडौँ– नेपाली काँग्रेसले बैतडी घटना निन्दनीय भएको जनाएको छ।
बैतडीको डिलासैनीमा भएको काँग्रेसको विरोध सभामा नेकपाको ओली पक्षले आक्रमण गरेर काँग्रेसका नेता एनपी साउदसहित कैयौं कार्यकर्ता घाइते भएका थिए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताले नियोजित रुपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेका हुन् ।
काँग्रेसले सत्ताको उन्माद नदेखाउन चेतावनी दिदै डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ ।
काँग्रेसको विज्ञप्ति
बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो ।
सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया