‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ सहयोगी सावित: प्रदेश प्रमुख कलौनी

RSS
0
Shares

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम सहयोगी सावित भएको बताएका छन् । कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवस समारोहमा सोमवार शुभकामना मन्तव्य दिँदै प्रदेश प्रमुख कलौनीले कोरोना महामारीमा यहाँका नागरिकको जनस्वास्थ्य सुरक्षामा प्रदेश सरकारले पुर्याएको योगदान र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थुप्रैलाई दिएको रोजगारी निकै प्रशंसा गर्न लायक काम भएको बताए ।

“कर्णाली सरकारले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुसार दीर्घकालीन महत्व राख्ने कार्यक्रम अघि सारेको छ”, उनले भने, “मुख्यमन्त्री रोजगार, एकीकृत बस्ती विकास, ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’, कर्णालीका नागरिकको विपद् बीमालगायतका कार्यक्रम, कानून निर्माण, स्वास्थ्य संरचनाको निर्माण तथा सेवा विस्तार, कृषि, पर्यटनलाई बढावा दिएको छ ।”

प्रदेश प्रमुख कलौनीले व्यावसायिक र आधुनिक कृषि प्रणालीमा जोड दिनुका साथै मौलिक तथा अग्र्यानिक कृषि उत्पादन गर्न सकिए कृषिकै माध्यमबाट प्रदेशवासीको जीवनस्तर माथि उकास्न सकिने जनाए । उनले प्रदेशभरिको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।

समारोहमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा भौगोलिक अवस्था अन्य प्रदेशभन्दा निकै कमजोर भएकाले जनताले अपेक्षा गरेअनुसारको काम नदेखिएको बताए। “नाबालकजस्तो सरकार हुँदा पनि यसले नागरिकका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपरिरहेको छ”, उनले भने, “शून्य संरचनाबाट काम शुरु गरे पनि विकासका लागि आधार तयार गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?