काठमाडौं । नेपाली कांग्रेसले बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई अबिलम्ब कारबाहीको माग गरेको छ ।
घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धान तीव्र बनाउन र दोषीलाई अविलम्ब पक्राउ गर्न साथै देशैभरी घटेका घटनाहरुविरुद्ध राज्यको अस्तित्व प्रभावकारी प्रधानमन्त्री ओलीसँग माग गरेको छ ।
“अतः अनुसन्धान तिब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासंगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ ।” जारी विज्ञप्तिमा भनिएको छ ।
शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षीत बन्नेछ भन्ने विश्वास बितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको कांग्रेसले जनाएको छ ।
अनेक प्रकृतिको हिंसासंगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही बर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको कांग्रेसले जनाएको छ।
विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले बर्तमान सरकारप्रति जनतामा उदासिनता प्रकट गरेको कांग्रेसले जनाएको छ । जसको कारण निर्मला पन्तको हत्यामा संलग्नहरु खुलेआम हिँडिरहेको बताइएको छ ।
“विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको छ भने अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर समेत बनाएको छ ।” जारी विज्ञप्तिमा भनिएको छ, “निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानूनको कठघराभन्दा बाहिरै छन् ।”
महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जांदा राज्यले बिशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली कांग्रेस यस्ता घटना विरुद्ध सिंगो समाजको सजगताका लागि अपील गरेको छ ।
यस्ता घटनामा न्यायका लागि नेपाली कांग्रेस सजगताका साथ कृयाशिल रहंदै आएको जनाएको छ ।
यसैक्रममा उक्त घटनाको स्थलगत अध्ययन गर्न गरी लिखित प्रतिवेदन पेश गर्न एवम् स्थानीय र परिवारसँग भेट गर्न प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य रमेश लेखकलाई पठाएको छ । साथै जघन्य अपराधका घटनामा न्यायका लागि अनि घटना हुनै नदिन सजगताको लागि कांग्रेसले अपील गरेको छ ।
“यसक्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसंग भेट गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक आज सांझ बैतडी पुग्दै हुनुन्छ ।” जारी विज्ञप्तिमा भनिएको छ, जघन्य अपराधका घटनामा न्यायका लागि अनि घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि नेपाली कांग्रेस सबै नेपाली दिदिबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया