भारतले नेपालको तीनवटा सांस्कृतिक सम्पदा परियोजना पुनःनिर्माणका लागि १४२ करोड रुपैयाँ प्रदान गरेको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकासका लागि भारतले सो सहयोग प्रदान गरेको हो ।
भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा आज त्यसबारे ठेक्कासम्बन्धी सम्झौतामा हस्ताक्षर समेत सम्पन्न भएको छ ।
ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें –२५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्भझौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।
भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन्।
नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निमार्णका लागि भारत सरकारले प्रतिबद्वता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन्।
सेतो मच्छिन्द्रनाथ मन्दिर करिब ६२.६ करोड रुपैयाँको लागतमा जीर्णोद्वार र सबलीकरण गरिनेछ। यस्तै रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । जसको पुनःनिर्माणमा ४५.६ करोड लाग्ने दूतावासले जनाएको छ।
यसैगरी बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला ३३.४ करोडको लागतमा निर्माण हुनेछ । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया