न्यूजिल्याण्डमा टाइ नलगाउने सांसद संसदबाट निष्कासित

एजेन्सी । न्यूजिल्याण्डमा टाइ नलगाउने एक सांसदलाई संसदबाट बाहिर निकालिएको छ । माओरी पार्टीका नेता तथा सांसद राविरी वेइतितीले टाइ नलगाई संसदमा प्रश्न गर्न खोज्दा उनलाई संसदबाट बाहिर निकालिएको हो । न्यूजिल्याण्डमा पुरुष सांसदहरुले संसदमा हुने बहसमा टाइ लगाए मात्रै प्रश्न गर्न पाउने व्यवस्था छ ।

मंगलवारको संसदमा भएको बहसका क्रममा टाइ नलगाएका वेइतितीले दुई पटकसम्म प्रश्न गर्न खोजेपछि उनलाई संसदबाट बाहिर जाने आदेश दिइएको थियो । उनले आफ्नो सांस्कृतिक मूल्य मान्यतासँग मेल नखाने भन्दै टाइ लगाउन अस्वीकार गरेका थिए ।
यो टाइ मात्रको विषय होइन । “यो साँस्कृतिक पहिचानको मुद्दा पनि हो”, उनले भनेका छन् । वेइतितीलाई गत वर्ष पनि संसदमा टाइ नलगाएपछि संसदबाट बाहिर निकाल्ने चेतावनी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?