काठमाडौँ । मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने संक्रामक बर्डफ्लु रोग राजधानी काठमाडौंमा देखिएको छ । किसानले पालेका टर्की र हाँसमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले पुष्टि गरेको छ ।
काठमाडौं तारकेश्वर नगरपालिका वडा–७, सांङ्लेखोला फुटुङका बासिन्दाले पालेका पन्छीमा परीक्षण गर्दा बर्डफ्लु रोग (एच५एन८ भाइरस) भेटिएको विभागका प्रवक्ता चन्द्र ढकालले बताए । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम विधिबाट परीक्षण गर्दा बर्डफ्लु रोग पुष्टि भएको हो । ‘जनस्वास्थ्यका दृष्टिकोणले पनि जोखिम रहेको बर्डफ्लु पन्छीमा भेटिएको छ,’ ढकालले भने, ‘बर्डफ्लु भेटिएका ठाउँका कुखुरालगायत पन्छी नष्ट गरेका छौं ।’
विगतमा नेपालमा देखिएको एच५एन१ भाइरसभन्दा अहिलेको भाइरस केही फरक प्रकृतिको रहेको विभागले जनाएको छ । बर्डफ्लु रोग पुष्टि भएका क्षेत्रका एक हजार ८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की र तिनका अण्डा तथा दाना नष्ट गरिएको छ । रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण गरिएको विभागले जनाएको छ ।
भारतका विभिन्न प्रदेशमा देखिएको यो रोग नेपालमा कसरी भित्रियो भन्ने अनुसन्धान भैरहेको विभागले जनाएको छ । नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया