१७६ दिनपछि पहिलोपटक कोरोनाबाट मर्नेको संख्या शून्य

काठमाडौं । बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये मृतकको संख्या शून्यमा झरेको छ । संक्रमितको संख्या घटिरहेको बेला मृतकको संख्या बिहीबार शून्यमा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार संक्रमितमध्ये तीन जनाको मृत्यु भएको थियो ।

गत १८ साउन २०७७ मा संक्रमित मृतकको संख्या शून्यमा सीमित हुन पुगेको थियो । त्यसयता संक्रमित मृतकको संख्या दैनिक बढ्दो क्रममा थियो । १७ साउनमा कुल मृतकको संख्या ५६ थियो । १८ साउनमा पनि कुल संक्रमित मृतकको संख्या ५६ थियो । हालसम्म संक्रमितमध्ये २ हजार २० जनाको मृत्यु भएको छ । माघयता दैनिक संक्रमितको संख्या ५ सयभन्दा कम रहेको छ ।

देशभर बिहीबार २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २०३ जना रहेको छ । बिहीबार थप ३ हजार ७९१ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २० लाख ६० हजार ८६० पुगेको छ ।

हाल ११३ जना क्वारेन्टिनमा रहेका छन् । बिहीबार थप २९६ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । यस्तै देशभर हाल १७२ जना कोरोना संक्रमित अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । १४६ जना आईसीयू र २६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?