खुल्ला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई

RSS
0
Shares

गोरखा । पृथ्वीजयन्तीका अवसरमा आज (सोमवार) भएको खुल्ला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले निर्धारित दूरी २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दैै दोस्रो भए । प्रतियोगितामा पूर्णबहादुर गुरुङले निर्धारित दूरी २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै चौंथो र सुमन मगरले २६ मिनेटमा निर्धारित दूरी पार गर्दै पाँचौं स्थान हात पार्न सफल भएको गोरखा युथक्लबका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट शुरु भएको दौड प्रतियोगिता सतिपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत भएको महिला खुल्ला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छिन् । उनले निर्धारित दूरी ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हुन् । महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले निर्धारित दूरी ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौंथो स्थान हात पार्न सफल भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?