काठमाडौं । सार्वजनिक जग्गा किर्ते आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ कर्मचारीसहित ५० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। १७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने ३३ लाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
जग्गा माफियाले नापी र मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरका साविक हरिसिद्धि गाविस–१ क, धापाखेल गाविस–१ क तथा हाल ललितपुर महानगरपालिका–२८ र २३ स्थित ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारी/सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उक्त कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी र मालपोत प्रमुख उपसचिव बाबुराम खनालको मिलेमतो देखिएको आयोगले जनाएको छ।
त्यस्तै, युरो ल्यान्ड डेभलपर्स प्रालि, युरो हाउजिङ डेभलपर्स प्रालि र काठमाडौं अस्पताल प्रालिका सञ्चालकको संलग्नता देखिएको छ।
उनीहरूले ०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई सार्वजनिक/सरकारी जग्गासमेत प्लटिङ गरी बिक्रीवितरण गरेको पाइएको छ। तत्कालीन नापी प्रमुख जैसी र मालपोत प्रमुख खनालसहित १७ जनाविरुद्ध २ करोड २ लाख ३३ हजार रुपैयाँबराबरको बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले बताए। उनीहरूविरुद्ध तीन वर्षसम्म कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुलउपरको माग गरिएको छ। जग्गा किन्ने ३३ विरुद्ध जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।अन्नपूर्ण पोष्टमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया