काठमाडौं । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ ।पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिए । “हाइड्रोजनका बारेमा विश्व धेरै अगाडि बढेको छ, यो प्रविधि ल्याउन प्रयोग गर्ने र स्वदेशी सफा ऊर्जा हाइड्रोजनको प्रवद्र्धनमा निगमले ढिला नगरी काम सुरु गरेको हो,” उनले भने, “हाइड्रोजन भविष्यको बलियो र उत्तम स्रोत हो भन्ने बुझेर काम नगरिए हामी पछाडि पर्न सक्छौँ ।”
पौडेलका अनुसार निगम अब हाइड्रोजन उत्पादनका लागि नीतिगत कानुनी समस्या के छन्, त्यो सल्टाउने र यो क्षेत्रमा लगानीको वातावरण बनाउन लागिपर्नेछ । निगमको आकलनमा आगामी पाँच वर्षभित्र नेपालमा हाइड्रोजन इन्जिनजडित सवारी साधन भित्रिइसकेका हुनेछन् र त्यसमा हाइड्रोजन इन्धन आपूर्ति गर्न निगम तयार हुनेछ । निगमले यससम्बन्धी अध्ययन अनुसन्धान लगायतको प्रबन्धका लागि काठमाडौँ विश्वविद्यालय (केयू)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
निगम र विश्व विद्यालयबीचको समझदारी पत्रमा निगमका निर्देशक दीपक बराल र विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डिन डा. डम्बरबहादुर नेपालीले हस्ताक्षर गरेका थिए । निर्देशक बरालका अनुसार निगम खनिज ऊर्जाको आयात भण्डार र बजारीकरणमा मात्र सीमित नभएर स्वच्छ ऊर्जाको क्षेत्रमा पनि सक्रिय हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेको छ । “जलस्रोतमा धनी नेपालले बढी भएको बिजुली र पानीबाटै महìवपूर्ण ऊर्जा स्रोत हाइड्रोजन प्राप्त गर्ने सम्भावनाको यथार्थ चित्रण पाउन केयूसँग समझदारी गरेका छौं,” उनले भने, “अब नेपालमा हाइड्रोजन उत्पादन, खपतका क्षेत्र प्रविधिको उपलब्धता, लागतजस्ता विषयमा अनुसन्धान तथा अन्य कार्यक्रम बन्छन् । इन्धान कारोबार गर्ने निकायले त यो सोच्नै पर्यो नि !”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया