मासिक २० प्रतिशतले बढे ‘क्यूआरकोड’ प्रयोगकर्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको शुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोडको प्रयोग गर्ने अभियान शुरु गरेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन ।

शुक्रवार काठमाडौंको नक्साल तरकारी बजारमा रहेका पसलहरुमा क्यूआर कोडबाट भुत्तानीको सुरुवात गर्न आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले देशै भरका तरकारी बजारमा क्यूआर कोडको प्रयोगलाई प्रोत्साहन गरिने बताएका हुन ।

नगदको चलनचल्तिबाट कोभिड–१९ संक्रमण जोखिमको डर भएकोले क्यूआर कोडबाट भुक्तानी गर्ने अभियान सञ्चालन गरिएको पनि बताए । कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा २० प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्दा बैंकहरुको खर्च घटने बताए । ब्रिक बैंकिङको लागत क्लीक बैंकिङको भन्दा धेरै नै महँगो भएकाले बैंकहरुले क्यूहार कोडबाट भुक्तानी बढाउन प्रोत्साहन गर्नुपर्ने दाहालले बताए । त्यसका लागि बैंकहरुले डिजिटल पूर्वाधार र सुरक्षामा अझबढी लगानी बढाउनुपर्ने पनि सिइओ दाहालले बताए ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले फलफूल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी कार्यक्रमको थालनी गरेका हुन् ।  डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?