खेमराज गौतम/ गलकोट । बाह्र वर्षको उमेरमा सशस्त्र द्वन्द्वमा होमिएकी तिलाकुमारी अहिले द्वन्द्वको कुरा लुकाउन खोज्छिन । जनयुद्धमा घरपरिवार त्यागेर लागेकि सल्यानको बागचौर नगरपालिका– ४ की तिलाकुमारी अहिले बागलुङमा आएर द्वन्द्व भुल्दै कृषि कर्ममार्फत व्यावसायिक उत्पादनमा लागेकि छिन। पढ्ने, रमाइलो गर्ने उमेरमा योद्धा बनेकि तिलाकुमारीले जनयुद्धमा होमिएर आफ्नो समय खेर फालेको तीतो अनुभव सुनाईन्। उनी द्वन्द्वको घाउ मेटाउँदै व्यावसायिकरुपमा कुखुरा, टर्की र बङ्गुरपालनमा लागेकि छिन् ।
विसं २०५२ फागनु १ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सशस्त्र द्वन्द्व थाल्दा तिलाकुमारी १२ वर्षकी थिईन्। जनयुद्धमा होमिएपछि तिलाकुमारीको दैनिकी र बाटो मात्र फेरिएन, उनको नामसँगै गन्तव्य र लक्ष्य पनि फेरियो । उनलाई समीक्षाको उपनामले चिनाउन थाल्यो । उनी समानताको लडाईंका लागि युद्धमा होमिईन तर आज बिर्सन चाहानुहुन्छ पुराना यादहरू । उनले परिवर्तनका लागि युद्धमा होमिए पनि अन्त्यमा आफू शुन्य अवस्थामा आए पनि नयाँ जीवनको शुरुवात गरेको बताइन ।
तत्कालीन समयमा माओवादीकी निडर, आत्मविश्वासी, भरोसायोग्य लडाकु र स्वास्थ्यकर्मीको भूमिकामा रहेकि तिलाकुमारी अहिले बाटो बदलेर सामान्य जीवयापनमा फर्किएकि छिन् । युद्धमा घाइतेको उपचार मात्र होइन, आवश्यकता पर्दा हतियार उठाएर युद्धको अग्रभागमै रहेर २४ वटा युद्ध लडे पनि शान्ति प्रक्रियामा आएपछि आफूलाई बेवास्था गरेको दुखेसो गरिन। “चौबिस वटा युद्ध आफू नै लडेको अनुभव छ”, तिलाकुमारीले भनिन, “तर आज आफ्नो जीवनमा मात्र हैन नेपाली समाजमा समेत कुनै परिवर्तन आएन, अहिले साधारण तरिकाले जीवन जिउन थालेकी छु ।”
समाज र देश बदल्नका लागि गरेको युद्ध र सङ्घर्षबाट देशमा केही अभूतपूर्व परिवर्तन भए पनि आफ्नो जीवनमा समय र परिवार गुमाउनुपरेको उनको भनाइ छ । तिलाकुमारीमा क्रमशः एकपछि अर्को निराशाका बादल मडारिँदै आयो । त्यसैले आजभोलि फेरि तिलाकुमारीको दैनिकी फेरिएको छ । उनी अहिले कुखुरा, चल्ला, घर व्यवहार र चुला चौकामै सीमित भइरहेकि छिन ।
महिलाले दासताबाट मुक्ति पाउँछन्, असमानताका सबै जञ्जिर तोडिन्छन्, महिला र पुरुषको मात्र होइन, समाजमा हुने सबै खालका भेदभावको अन्त्य हुन्छ भनेर हत्केलामा प्राण लिएर माओवादीबाट १९ वर्षको उमेरमा २०५९ साल चैत २७ गते जनमुक्ति सेनाबाट युद्ध लडेकि तिलाकुमारीले तिनै मीठा सपना देखाएका नेताबाट आफु विभेद र अन्यायमा परेको अनुभूति गरेकि छिन् ।
जनमुक्ति सेना बनेर रुकुमको खारा युद्ध, भालुवाङलगायतका २४ स्थानमा युद्ध लडेकि तिलाकुमारीलाई अहिले पछुतो भएको छ । उनले माओवादीमा लागेर समय र आफ्नो भविश्य मात्रै खेर फालिनन युद्धमा आफ्ना दाजु झलकमान, भाउजु र भतिजीसमेत गुमाईन । पातलो र मोटो मसाल भन्दै दाजुले गरेको राजनीति देखेर कम्युनिष्ट बन्नुभएकी तिलाकुमारीलाई उनका दाजुले तत्कालीन समयमा माओवादीको उपचार गर्नका लागि दाङको राप्ती हेल्थ इन्स्टिच्युटबाट अनमीसमेत पढाएका थिए । अनमी सकिँदा साथ प्रमाणपत्र झोलामा राखेर युद्धभूमिमा होमिएकी तिलाकुमारीको भालुवाङ लडाईमा प्रमाणपत्र हराए पनि ज्ञान, सीप र क्षमताले धेरै घाइतेले नयाँ जीवन पाएको सम्झना दिमागमा ताजै रहेको उनको भनाइ छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ र नन्दकिशोर पुन ‘पासाङ’को युद्ध तयारी र प्रशिक्षणले उम्लिएको रगत लिएर युद्धभूमिमा जानुभन्दा अघिल्लो दिन आफ्नै हातले आफू र आफ्ना साथीका लागि डोका, काप्रा र बाँसका स्टेचर तयार पारेका हात यतिबेला युद्धको स्मरण गर्दा काप्ने गरेको तिलाकुमारीले बताईन । “सारा कुरा बिर्सेर जनयुद्धमा लागे पनि देशमा परिवर्तन आयो, नेतामा परिवर्तन आयो तर आफूलाई निरासाबाहेक केही भएन”, थापाले भनिन “अहिले पुराना कुरा, माओवादी त सम्झनै चाहन्न, जनयुद्धका तस्बिरसमेत च्यातिदिएँ ।”
तत्कालीन समयमा देश र जनताका लागि गरेका बलिदानको कदर हुन छाडेपछि पुराना सबै स्मरण मेटाउनका लागि उक्त समयमा खिचाएका तस्बिर च्यातिदिएको उनले बताईन ।
शान्ति सम्झौतापश्चात् आफूलाई जिम्मेवारीविहीन बनाएको तिलाकुमारीको भनाइ छ । उनी पुराना सबै कुरा पछाडि छोडिएको भए पनि जनमुक्ति सेनामा भेटिएका बागलुङको काठेखोला गाउँपालिका वडा नं १ पालाका विजय रोकासँग २०६२ असोज २५ गते जनवादी विवाह गरेर जोडिएको साइनोले उनलार्ई बाँच्ने आधार भने सिर्जना गरेको छ । श्रीमान्, एक छोरा र एक छोरीसहित बागलुङ नगरपालिका–३ हाडेपाखामा अहिले तिलाकुमारीको सानो कुखुरा फार्म छ ।
तिलाकुमारी दम्पती अब गुनासो मात्र गरेर संसार नचल्ने भन्दै बाटो बदलेर व्यावसायिक उत्पादनमा लागेका हुन् । करिब रु आठ लाख लगानीमा उनले कुखुरा फार्म सञ्चालनमा ल्याएकी छिन । उनले पहिलो पटक ४०० बोइलर कुखुरा बिक्री गरिसकेकि छिन । अब नयाँ चल्ला हाल्ने तयारीमा छिन् । यस्तै उनले अण्डा दिने ५० लोकल कुखुरा र १५ टर्कीचरासमेत पाल्दै आएकि छिन् । उनका श्रीमानले सवारी चालकको काम गरेर घर खर्च आएको छ । उनले हालै १० वटा बङ्गुरका पाठापाठी खरिद गरेर पाल्न थालेकि छिन् ।
आफूले जस्तै परिवर्तनका लागि, देश र जनताका लागि माओवादी बनेका र युद्ध लडेकालाई सत्तामा पुगेपछि पार्टी र नेताले भुल्दै गएको प्रति भने उनको तीव्र आक्रोश छ । “नेताले आफ्नो सात पुस्तालाई पुग्ने सम्पत्ति जोडे”, उनले भनिन, “उनीहरूसँगै परिर्वतनको लडाई लड्दा हात खुट्टा गुमाएका, अङ्गभङ्ग भएका मागेर खाने भएका छन्, अरु हजारौँ योद्धा बेरोजगार छन्, जनताको अवस्था उस्तै छ ।”
हातखुट्टा गुमाएका, शरीरमा जनयुद्धका निशानी बोकेर बाँचेकाको दयनीय अवस्था देख्दा अझै पीडा थपिने गरेको बताउँदै उनले आफूहरूको त्याग, समर्पण र आफन्तको रगत खेर गए जस्तो अनुभूति हुने गरेको बताएकि छिन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया