“६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाह भत्ता”

बनेपा । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन् ।

‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताए । उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाखको ‘पत्रकार सम्मान वृद्धि कोष’ स्थापना गरेर ३० वर्ष निरन्तर पत्रकारिता गरेर ६५ वर्ष पुगेकालाई पेन्सन दिने व्यवस्था गरेको उल्लेख गर्दै त्यससँगै द्वन्द्व पीडित र अपाङ्गता भएकालाई मासिक १० हजारका दरले जीवन निर्वाह भत्ता दिने निर्णय भएअनुरुप त्यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताए ।

आपत्कालीन अवस्थामा सहयोग गर्न एक करोडको कोष स्थापना गरेकामा त्यसका लागि अहिले ६० लाख जम्मा भइसकेको र बाँकी ४० लाख महाधिवेशनसम्म पुग्दा जम्मा गरिसक्ने उनले बताए । पत्रकारिता पेशा गरेर अरु वैकल्पिक पेशा नभएका पत्रकारका लागि सहयोग गर्न केन्द्रले सबै जिल्लाबाट सिफारिसका लागि आग्रह गरेकामा अहिलेसम्ममा ६०० पत्रकारलाई सहयोग गरिसकेको उनले बताए ।

कार्यक्रममा उनले समानुपातिक विज्ञापन ऐन लागू गर्न भनेर उठाएको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चारगृहलाई सहयोग पुग्ने बताए । त्यसका लागि आफूहरुको कार्यकालमा नै प्रयोगमा ल्याउन पहल भइरहेको अध्यक्ष आचार्यले बताए ।

समानुपातिक विज्ञापन मात्रै लागू भयो भने सबैका लागि राम्रो हुने भएकाले त्यसलाई छिटो कार्यान्वयनमा ल्याउन सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनले बताए । छिटो कार्यान्वयनका लागि सुझाव दिए पनि कर्मचारीतन्त्रबाट उचित सहयोग नभइरहेको भन्दै त्यसका लागि सबै ठाउँबाट दबाब दिन आवश्यक रहेको उनको भनाइ थियो ।

महासङ्घको जग भनेको जिल्ला शाखा भएकाले शाखा जति मजबुत हुन्छ, त्यति नै बलियो हुने भन्दै जिल्लालाई सबै अधिकार दिएर बलियो, जवाफदेही र जिम्मेवार बनाउने काममा केन्द्र लागिरहेको उनको भनाइ छ । उनले भने, “नागरिकको अगुवा संस्थाले केही पनि नलुकाउने र हरेक जिल्लाले वेबसाइटमा राख्ने काम हुनेछ ।” त्यसका लागि सबै जिल्ला शाखाको आफ्नै भवन बनाउने र पत्रकारको हकहित र अधिकारका लागि गर्नुपर्ने सबै काम जिल्लाबाट नै हुनेगरी प्रक्रिया अगाडि बढाइसकेको उनले बताए । त्यसको निगरानी प्रदेशले गर्ने र नीतिगत कुरामा केन्द्रले लबिङ गर्ने उनको भनाइ छ । पत्रकार महासङ्घको सबै जिल्ला, प्रदेश र केन्द्र बलियो हुँदा सङ्घीयता पनि बलियो हुने र सरकार पनि बलियो हुने भएकाले सबैलाई बलियो बनाउन सरकारसँग छलफल भइरहेको हुँदा त्यसका लागि महासङ्घ केन्द्रीय समिति अघि बढिरहेको उनले बताए ।

सो क्रममा उनले महासङ्घकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर न्याय दिलाएको बताए । पत्रकारका हकहितको पक्षमा सम्झौताहीन ढङ्गले लडेर उनीहरुको पक्षमा काम गरिरहेको बताए । सो अवसरमा उनले जिल्ला शाखामध्येमा काभ्रेपलाञ्चोक शाखा उत्कृष्ट शाखाको रूपमा सम्मान गरेको समेत उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?