त्रिशुली अस्पतालमा सघन उपचार सेवा शुरु

नुवाकोट । त्रिशुली अस्पताल नुवाकोटमा बुधवार (हिजो) देखि सघन उपचार कक्ष सेवा शुरुवात भएको छ ।

अस्पतालको स्तरवृद्धि भएर ५० शैया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ बागमती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको जानकारी दिए । “दश शैयाको सघन उपचार सेवा अन्तर्गत अस्पतालले दुई वटा भेन्टिलेटरसहित तत्कालको लागि छ शैयाको सघन उपचार कक्ष र चार श्ययाको अक्सिजन शैया (हाई डिपेन्डेन्सी युनिट–एचडीयू) सेवा शुरु भएको छ”, उनले भने, “सेवा सञ्चालनमा आए पनि औपचारिक उद्घाटन भने यही पुस ७ गते वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले गर्नुहुनेछ ।”

अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसगैँ दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन् ।

अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला समेत सञ्चालनमा आएको छ । यसका लागि सांसद नारायण खतिवडाले विशेष पहल गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?