बनेपा । वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सुरक्षा निकायलाई सुदृढ र मजबुद बनाउन स्थानीय तहहरुले पनि लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–७ फलाँटेमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उनले गाउँतिर विकास चरणमा रहेकाले बढी सुरक्षा व्यवस्था त्यता आवश्यक रहेको बताउँदै सुरक्षा निकायलाई हिजोको जस्तै भवन, गाडी र इन्टरनेटको अभावमा राखेर समृद्धि, सुशासन र विकासको बाटोमा अगाडि बढ्न नसक्ने बताए ।
शान्तिसुरक्षालाई पनि उच्च महत्वका साथ अगाडि बढाउनुपर्ने र त्यसका लागि विनालगानी सुरक्षा निकाय सुदृढ हुन नसक्ने भएकाले स्थानीय सरकारले लगानी गर्नैपर्नेमा उनले जोड दिए । अहिलेको मुख्य जिम्मेवारी भनेको सुशासन र समृद्धि ल्याउनका लागि शान्ति र सुरक्षा आवश्यक रहेकाले त्यसलाई सँगसँगै लानुपर्ने उहाँको भनाइ छ ।
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले प्रहरी चौकी प्रहरी बस्ने घर मात्रै नभएर सुरक्षा दिने महत्पवूर्ण पाटो भएका कारण नेपाल प्रहरीको कार्यालय व्यवस्थित भयो भने मात्रै उचित सुरक्षा दिने सकिने भएकाले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
वाग्मती प्रदेशका प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले वाग्मती प्रदेशभित्रमा निर्माण भइरहेको ४७ वटा प्रहरी भवनमध्येको फलाँटे चौकी भवन उद्घाटन पाँचौँ नम्बरमा रहेको बताए ।
भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गाउँपालिकाभित्रमा रहेको चारवटा प्रहरी चौकीमध्ये दुईवटा बनिसकेका र दुईवटा बनाउन बाँकी रहेका बताए । गाउँपालिकाका तर्फबाट चारवटा प्रहरी चौकीका साथै स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालयलाई पनि निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने तयारी गरिरहेको उनले उल्लेख गरे।
प्रदेश सरकारको दुई करोड ३१ लाख ७० हजार आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको भवनसँगै शौचालयसमेत रहेको छ । सो क्रममा सहुलियत दरमा जग्गा उपलब्ध गर्ने जग्गा धनी र समयमा नै कार्य सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया