कोरोना संक्रमितको संख्या घट्दै

कालिकोट । कालिकोट जिल्लामा कोभिड–१९ का संक्रमितको संख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा संक्रमितको सङ्ख्या घट्दै गएको हो ।

जिल्लामा हालसम्म २४५ जनामा संक्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको संख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो”, उनले भने, “दुई जना आज नै संक्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहनुभएको छ ।”

कोराना संक्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताए ।

नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?