कर्णाली । समुदायस्तरमा विद्यमान बाधाको विश्लेषण गरी मानवीय व्यवहार परिवर्तन गराउन सरसफाइ तथा स्वच्छता प्रशिक्षण दिइएको छ । जुम्लाको चन्दननाथ नगरपालिका समन्वय, एसएनभी नेपालको सहयोग तथा आत्मसम्मानका लागि सहकार्य (क्याड)ले विकास र स्वास्थ्यका लागि शहरी खानेपानी सरसफाइ र स्वच्छता कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र कार्यरत स्वास्थ्य संस्थाका नौजना स्वास्थ्यकर्मी र बाँकी सामाजिक तथा अन्य क्षेत्रमा काम गर्ने छ जनागरी १५ जनालाई पाँच दिनसम्म प्रशिक्षण दिएको हो ।
पाँच दिने प्रशिक्षणको अवधिमा दिसाजन्य पदार्थको व्यवस्थापन, चर्पीको स्वस्थकर प्रयोग, जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुने, महिनावारीको स्वस्थकर तथा घरधुरी तहको ठोस फोहोर व्यवस्थापनबारे सहभागीलाई प्रशिक्षण दिइएको क्याड नेपाल जुम्लाका संयोजक धर्मराज शाहीले जानकारी दिए । “यिनी विषयवस्तुमा स्वस्थकर व्यवहार अवलम्बन गर्न समुदायस्तरमा विद्यमान बाधाको विश्लेषण, ती बाधालाई हटाउनुको उद्देश्यबारे प्रशिक्षणमा विशेष छलफल भयो”, संयोजक शाहीले भने, “ती उद्देश्य परिपूर्तिका लागि सञ्चार सन्देशमार्फत स्वस्थ व्यवहार परिवर्तनमा सहयोग पुर्याउने हेतुले सहजीकरण गरिएको थियो ।” उक्त कार्यक्रममा एसएनभी नेपालका प्रतिनिधि सुवासचन्द्र भारतीले सकारात्मक विकासका लागि व्यवहार परिवर्तन आवश्यक रहेको जनाए ।
उक्त प्रशिक्षण कार्यक्रम चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रशिक्षण प्राप्त ज्ञान अभ्यासमा ल्याउन प्रशिक्षाथीलार्ई अनुरोध गरे । आफूले सिकेको सीप समुदायमा हस्तान्तरण गर्न सुझाउँदै नगरप्रमुख सेजुवालले समाजमा विद्यमान संस्कृति र व्यवहार परिवर्तन नभएसम्म विशेष गरी महिला विभिन्न हिंसाको शिकार हुने तर्क गरे । त्यसको साथै नोभेम्बर २५देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा लाग्न अनुरोध गरेका थिए।
क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतमले स्वस्थ मानव जीवनविना समृद्ध समाज तथा देशको कल्पना नसकिने बताए । समाजमा विद्यमान व्यवहार र बानी परिवर्तन गरी मानव विकासमा सहयोग पुर्याउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने निर्देशक गौतमको भनाइ थियो ।
प्रशिक्षणका सहभागी एवं स्वास्थ्यकर्मी उषा रावलले समाजको गर्भमा लुकेका विकृत कुराले समाजमा मुख्य गरी महिला तथा बालबालिकाको जीवनमा पर्ने असरबारे सन्देश पुयाउन मद्दत पुगेको बताए। महिनावारी स्वस्थकर व्यवस्थापन, सरसफाइ र स्वच्छ जीवनका लागि गर्नुपर्ने कामबारे अपेक्षा गरिएकोभन्दा बढी जानकारी भएको स्वास्थ्यकर्मी रावलले जनाए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया