यस्तो छ नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् । यो कूल संक्रमितको ११।४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टाइनमा र १९ हजार १४ होम आइसोलेसनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप २२ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा एक हजार १०७ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार १०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४८४ महिला र ६२३ पुरुष रहेका छन् । मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्ममा काठमाडौंमा एक हजार ६८१, ललितपुरमा दुई हजार २२८ र भक्तपुरमा ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्ममा काठमाडौं उपत्यकाकै सबैभन्दा बढी काठमाडौंमा ३१६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । हाल देशका १२ जिल्लामा ५०० भन्दाबढी संक्रमित उपचाररत छन् भने एक मात्र जिल्ला मनाङ संक्रमणमुक्त रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?