ललितपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले मुलुकका विभिन्न जिल्लामा पहुँच विस्तार गरेको छ । नेफ्स्कूनले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकक्षमा आज आयोजना गरेको २९ औँ वार्षिक साधारणसभा कार्यक्रममा संस्थाका महासचिव दामोदर अधिकारीले मुलुकका ६३ जिल्लाका बचत तथा ऋण सहकारी सङ्घ नेफ्स्कूनमा आबद्ध भएको बताए । उनले भने, “मुस्ताङ जिल्लामा हाम्रो पहुँच पुगेको छैन । यस वर्ष सञ्चालक समितिले त्यहाँ पनि आबद्धता वृद्धि गर्ने लक्ष्य राखेको छ ।”
तीन हजार ८७६ ‘साकोस’ नेफ्स्कूनमा आबद्ध छन् । नेफ्स्कूनमार्फत सहकारी अभियानमा रहेका ६५ लाख सदस्यमध्ये ३१ लाख नेफ्स्कूनको छाता सङ्घमा आबद्ध हुन सफल भएको अधिकारीले जानकारी गराए । सो संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका एक हजार सहकारी स्तरीकरण गर्नेतर्फ आफू लागिपरेको भनाइ राखे ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले सहकारीले ग्रामीण सामन्तवादलाई नष्ट गर्न सफल भइरहेको मत व्यक्त गरे । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले हरेक सहकारीले आफ्नै उत्पादनमा जोड दिएर डिजिटल प्रविधिसमेतमा बढावा दिन आवश्यक भएको चर्चा गरे । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालका अध्यक्ष मीनराज कँडेलले कोभिड महामारीपछि अब सहकारीले उत्पादन र व्यवसायिकीकरणमा ध्यानाकर्षण गर्न जरुरी रहेको चित्रण गरे। उपाध्यक्ष रमेश पोखरेलले देशका ७४९ स्थानीय तहमा मात्र हालसम्म सहकारी खुलेको बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया