न्यायपालिकाका कर्मचारीको पहिलो सम्मेलन

काठमाडौं । न्यायपालिकाका रजिष्ट्रार , स्रेस्तेदार र तहसिलदारको पहिलो पटक यही मङ्सिर ८ र ९ गते राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘सुदृढ अदालत व्यवस्थापन र न्यायिक सुशासन: हाम्रो प्रतिबद्धता’ नाराका साथ हुन लागेको सम्मेलनको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा न्यायपालिकाका पाँच व्यवस्थापकीय आयाममा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ । सम्मेलनका सत्रमा उच्च अदालतका रजिष्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिष्ट्रार, स्रेस्तेदार तथा तहसिलदारको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिकाको विषयमा छलफल हुनेछ ।

प्रशासकीय नेतृत्वको भूमिका र दायित्वका विषयमा देखिएका समस्या र त्यस्ता समस्याको समाधान पहिल्याउने र मार्गनिर्देशन गर्ने उद्देश्यले अदालत व्यवस्थापनको प्रभावकारिता, नेतृत्वको भूमिका र दायित्वको विषय समावेश गरिएको छ । न्यायपालिकाको सुधारका प्रयासलाई संस्थागत गर्ने उद्देश्यले गत साउन १ देखि जिल्ला अदालत र गत भदौ १ देखि उच्च अदालतमा लागू भएको फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनमा छ ।

त्यसको सफल कार्यान्वयनमा उच्च अदालतका रजिष्ट्रार र जिल्ला अदालतका स्रेस्तेदारको भूमिका महत्वपूर्ण छ । यस्तै संहिता कानूनको कार्यान्वयनमा समेत जिल्ला र उच्च अदालतका प्रशासकीय नेतृत्वको भूमिका महत्वपूर्ण रहेकाले त्यस्ता नयाँ कानूनको कार्यान्वयनमा देखिएका समस्या निदान गरी स्पष्ट पार्ने उद्देश्यले उक्त विषय छलफलका लागि राखिएको हो ।

न्यायपालिकाभित्रका सूचना प्रवाह तथा छिटो, छरितो र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन न्यायपालिकाको व्यवस्थापनमा बस्ने नेतृत्वको भूमिका महत्वपूर्ण रहने भएकाले न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिताको विषयलाई छलफलको विषय बनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?