कैदीबन्दी व्यवस्थापनमा समस्या

पाँचथर । संरचना नहुँदा जिल्ला कारागारमा ल्याइने नयाँ कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ संक्रमण परीक्षण नगरी नयाँ कैदीबन्दीलाई अन्यसँग राख्न नमिल्ने भएपछि अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीलाई छुट्टै राख्न आवश्यक पर्ने संरचना पर्याप्त नहुँदा कारागार प्रशासनलाई समस्या परेको हो ।

कारागारभित्र संक्रमण फैलनसक्ने खतरालाई दृष्टिगत गर्दै कारागार चलान भएका सबै नयाँ कैदीबन्दीलाई कम्तिमा दुई साता अन्य कैदीबन्दीभन्दा अलग्गै राखिने गरेको छ । नयाँ कैदीबन्दीका लागि आवास, खाना, सरसफाइलगायत दैनिक क्रियाकलापका लागि अलग्गै व्यवस्थापनमा आर्थिक र भौतिक संरचना अभाव रहेको जिल्ला कारागार कार्यालयका प्रमुख (जेलर) सुरेन्द्रबहादुर मुखियाको भनाइ छ ।

नयाँ आउने कैदीबन्दीलाई क्वारेन्टाइनका रुपमा कारागार प्रशासनसँगै कोठा व्यवस्थापन गरी राख्ने गरिएको छ । संरचना अभाव भएपछि कारागार प्रशासनले प्रशासनिक कक्ष, भण्डार, सुरक्षाकर्मी बस्ने कोठालगायतलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने तथा कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सामग्रीहरुको आलोपालो प्रयोग भइरहेको जेलर मुखियाले बताए।

हालसम्म विभिन्न मुद्धामा कारागार चलान भएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । कारागार प्रशासनको सतर्कताका कारण उनीहरु सबै अन्य कैदीबन्दीको सम्पर्कमा पुगेका भने थिएनन् । हप्तामा एक÷दुई जना कैदीबन्दी भित्र, बाहिर भइरहने हुँदा ब्यवस्थापनमा चुनौति थपिएको हो ।

स्वास्थ्य परीक्षणमा समस्या

यहाँ कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षण गर्ने एक स्वास्थ्यकर्मीको दरबन्दी गत वर्षदेखि रिक्त छ । स्वास्थ्यकर्मी नहुँदा सामान्य स्वास्थ्य समस्याको परीक्षणका लागि पनि दैनिकजसो अस्पताल धाउनुपर्ने सुरक्षाकर्मीको बाध्यता छ ।

जीर्ण कारागारमा छ गुणा बढी कैदीबन्दी हुँदा झनै समस्या

जीर्ण अवस्थामा पुगेको कारागारमा झण्डै छ गुणा बढी कैदीबन्दी रहेका छन् । यो कारागार २० पुरुष र पाँच महिला गरी २५ जना क्षमताको हो । अहिले यहाँ १२८ पुरुष र १५ महिला गरी १४३ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा आलोपालो सुत्नुपर्ने, शौचालय जान लाम लाग्नुपर्ने, खाना बनाउने तथा खाने ठाउँ नहुने जस्ता समस्या रहेको जेलर मुखियाको भनाइ छ । जीर्ण अवस्थाको भवन भएपनि केही संरचना थप्दै लगिएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?