जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आइतवारदेखि विद्यालय सञ्चालन गर्ने भएको छ । सो पालिकामा माध्यामिक तहमा विद्यार्थीको सङ्ख्याका आधारमा समूह विभाजन गरी प्रत्येक दिन ५० प्रतिशत विद्यार्थी कक्षामा सहभागी गराएर पठनपाठन गर्न लागिएको हो ।
कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए। गाउँपालिकाको यही कात्तिक १९ गतेको शिक्षा समितिको निर्णयले कात्तिक २३ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए ।
राजमार्गका पुल निर्माण पूरा नहुँदा समस्या
कर्णाली राजमार्गका पक्की पुल निर्माण पूरा नहुदाँ यात्रुलगायत सवारी साधानका चालकलाई सास्ती भएको छ । सो सडकको दैलेख र कालीकोट खण्डका ७ पुलको निर्माण अझै पूरा नहुँदा यात्रुले वर्षेनी सास्ती भोगिरहेका छन् । सडक डिभिजन कार्यालयका जुम्लाका अनुसार कालिकोटमा ३ र दैलेखमा ४ पुलको निर्माण अझै पूरा भएको छैन । दैलेखको पाल्तडामा खोला नै नभएको ठाउँमा पुुल बनेको छ । जहाँबाट कर्णाली करिडोर जाने बाटो छुट्टिन्छ । कालीकोटको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा पुल निर्माणको काम ७ वर्षदेखि अलपत्र छ । दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र परेको डिभिजन प्रमुख लीला भण्डारीले बताए ।
“दैलेखको घट्टेखोला, राकमखोला, जाक्सीखोला र सेरिघाटखोला पुल पनि ठेकेदारको लापरवाहीले अलपत्र परेका छन् ।” उनले भने, “सेरिघाटस्थित तिला नदीमा नेपाली सेनाको निर्माण कार्यदलले १५ वर्षअघि निर्माण गरेको बेलीब्रिज जीर्ण बनेको छ । १० वर्षसम्म प्रयोग गर्न मिल्ने भए पनि उक्त पुल विस्थापित नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया