कालिका सहकारीको डेढ लाख लुट

लमजुङ । बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा आज लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ ।

चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मर्स्याङ्दी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ॐप्रकाश पुनले बताए । कालो कपडा र कालो मास्क लगाएर आएका एक पुरुष झोलामा रहेको पैसा, मोबाइल, सहकारीको कलेक्सन लिष्ट सबै लुटपाट गरेर फरार रहेको र प्रहरीले खोजी तीव्र बनाएको उनको भनाइ छ ।

सहकारीका प्रमुख कार्यकारिणी अधिकृत देवराज खनियाँले सोमबार प्रत्येक पसल तथा घरघरमा गएर पासबुकका आधारमा लुटिएको यकिन रकम खुले पनि अन्दाजी डेढ लाख लुटिएको हुन सक्ने जानकारी दिए । लुटेराले कर्मचारी अछामीलाई लछारपछार गर्दा देब्रे खुट्टा मर्किएको सहकारीले जनाएको छ ।

अछामीको कार्यक्षेत्रमा एक सय जना जति सहकारीका सदस्य रहेको जनाइएको छ । सहकारी सदस्यबाट उठाएका रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?