असोजमा मात्र घरजग्गाको राजश्व ५ अर्बले बढ्यो

काठमाडौं । असोज महिनामा ६० हजार घरजग्गा किनबेच भएको छ । लकडाउन पछिका महिनाहरुमा सरदरमा १५ देखि ४० हजार घरजग्गा किनबेच हुने गरेकोमा असोज महिनामा मात्र ६० हजार घरजग्गा किनबेच भएर सरकारको राजश्व समेत पाँच अर्ब रुपैयाँ वृद्धि भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गा किनबेच गरेबापत तिर्ने रजिष्ट्रेसन शुल्क मात्रै करिब ३ अर्ब रुपैयाँ संकलन भएको छ । विगतको सामान्य समयमा मासिक २ अर्ब रुपैयाँ हाराहारी मात्रै रजिष्ट्रेसन शुल्क संकलन हुने गरेको थियो ।

असोजमा ५२ वटा मालपोत कार्यालयले एक करोड रुपैयाँभन्दा बढीले रजिष्ट्रेसन शुल्क संकलन गरेको छ ।

देशभरका १ सय १० वटा मालपोत कार्यालयको पछिल्लो तथ्यांकमा पुँजीगत लाभकर मात्रै करिब डेढ अर्ब रुपैयाँ संकलन भएको विभागले जानकारी दिएको छ ।

उपत्यकामा ७ हजार घरजग्गा किनबेच, डेढ अर्ब राजस्व

विभागका अनुसार उपत्यकाका ८ वटा कार्यालयको रजिष्ट्रेसन शुल्क मात्रै एक अर्ब ३३ करोड रुपैयाँ संकलन भएको छ । उपत्यकामा ६ हजार ९ सय घरजग्गाको खरिद बिक्रीबाट मात्रै करिब डेढ अर्ब रुपैयाँ रजिष्ट्रेसन शुल्क संकलन भएको छ ।

उपत्यकामा सबैभन्दा धेरै ललितपुर मालपोत कार्यालयबाट २८ करोड ७५ लाख रुपैयाँ रजिष्ट्रेसन शुल्क संकलन भएको छ । दोस्रोमा डिल्लीबजारबाट २८ करोड २५ लाख रुपैयाँ, कलंकीबाट २१ करोड रुपैयाँ, भक्तपुरबाट २० करोड २१ लाख रुपैयाँ, चाबहिलबाट १९ करोड ६२ लाख रुपैयाँ रजिष्ट्रेसन शुल्क संकलन भएको छ । त्यस्तै साँखुबाट ५ करोड ८५ लाख रुपैयाँ, मनमैजुबाट ५ करोड ८१ लाख रुपैयाँ र टोखाबाट ४ करोड १७ लाख रुपैयाँ रजिष्ट्रेसन शुल्क संकलन भएको विभागको तथ्यांक छ ।

तर , असोजमा काठमाडौंका केही मालपोत कार्यालय भन्दा विराटनगर र पोखराले बढी राजस्व संकलन गरेका छन् ।

उपत्यका बाहिर विराटनगरबाट ११ करोड ५२ लाख रुपैयाँ, पोखराबाट ११ करोड २४ लाख रूपैयाँ, चितवनबाट ७ करोड ३६ लाख रुपैयाँ, नेपालगञ्जबाट ६ करोड ८० लाख रुपैयाँ, वीरगंजबाट ६ करोड रुपैयाँ, धनगढीबाट ५ करोड ७३ लाख रुपैयाँ र भद्रपुर झापाबाट ५ करोड रुपैयाँ बढी रजिष्ट्रेसन शुल्क संकलन भएको विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?