८० प्रतिशतमा खोप : ५० प्रतिशत स्वास्थ्यचौकीमा प्रसूति

सिमकोट । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीवार र शुक्रवार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो ।

गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या, नियमित बालबालिकामा लगाइने खोप, औषधि पुगनपुग लगायत विषयको समीक्षा गरीएको रिप स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रसिंह कार्कीले बताए ।

नेपाल सरकारको नियमअनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पुर्याउनुपर्ने भए तापनि भौगोलिक विकटताका कारण समयमै औषधि नपुगेकाले सोचअनुरुप हुन नसकेको उनले बताए । माग फारामअनुसार औषधि र खोप नपुग्नु, ढुवानीलगायत समस्याका कारण लक्ष्यसम्म पुग्न नसकिएको जनाइएको छ ।

पछिल्लो समय स्वास्थ्यचौकीमा प्रसूति गराउनेको संख्यामा समेत वृद्धि भएको छ । यातायातको असुविधा र अन्य विविध समस्या भए पनि सोही पालिकाका सायाँ, रिप, उनापानी, जैरलगायत गाउँका प्रायः महिला स्वास्थ्य संस्थामा आएर प्रसूति हुने गरेको कार्कीले बताए । भौगोलिक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतनाको अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्नु र चासो नदिएका कारण सोचेअनुरुप काम गर्न नसकिएको कार्कीले गुनासो गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?