बाबुरामको आरोपमा खण्डन गर्दै प्रधानमन्त्रीले भने- ‘त्यस्ता हर्कत हामी गर्न सक्दैनौँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले बुढीगण्डकी परियोजना निर्माणमा आफू लक्षित आरोपको खण्डन गरेका छन् ।

शुक्रवार प्रधानमन्त्री ओलीले ६५ औँ प्रहरी दिवसको अवसरमा बोल्दै बुढीगण्डकी परियोजना निर्माणमा घुस बाँडेर खाएको भन्ने डा भट्टराईको आरोपमा कुनै सत्यता नभएको पनि प्रष्ट पारेका हुन् ।

साथै प्रधानमन्त्री ओलीले आफूले त्यस्तो गैर जिम्मेवार काम गर्न नसक्ने बताउँदै देश र जनतालाई कुचेस्टा र हर्कत गर्न नसक्ने पनि प्रष्ट्याएका छन् । उनले भने, ‘देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लाने कुचेष्टा, त्यस्ता हर्कत हामी गर्न सक्दैनौं । हामी सत्य निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौं।’

साथै कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले भष्ट्राचारमा शून्य सहनशीलताको नीति अपनाएको कुरा पनि दोहोर्याएका छन् ।

केहीदिन अघि डा भट्टराईले गोरखाको पालुङटारको एक सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै बहालवाला प्रधानमन्त्री ओली सहित दुई पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले बुढिगण्डकी परियोजना निर्माणमा नौँ अर्ब बाँडेर खाएको आफूसँग तथ्य प्रमाण भएको बताएका थिए । त्यसलगत्तै आफ्नो पार्टी सभापतिमाथि आरोपको खण्डन गर्दै नेपाली कांग्रेसले उक्त आरोप पुष्टि गर्न समेत चुनौती दिएको थियो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि अध्यक्षद्वयमाथि लगाइएको आरोप गलत भएको र पुष्टि गर्न चुनौती दिएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?