राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

आज  बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै यस्तो लेखेका छन्  :

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

पछिल्लो ३ महिनादेखि नेपालमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ । बितेको २४ घण्टाको जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ ।

बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २४ हजार १९४ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८२५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (बिहीवार) नेपालमा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार १७४ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?