काठमाडौं उपत्यकामा एकैपटक थपिए १९ सय ३५ कोरोना संक्रमित, कुन जिल्लाका कति ?

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार ६ सय ९२ जना, भक्तपुरमा १ सय ३४ जना र ललितपुरमा १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १६ हजार ५९८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ । यो कुल संक्रमितको ६९.४ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३६ हजार ५३३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा २४ हजार १९४ जना र संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना छन् । तिमध्ये ३१४ जना संक्रमितको आईसियु र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ८२५ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, मकवानपुर, बाँके र दाङ गरि ११ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (बिहीवार) नेपालमा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको थियो । २ हजार १७४ जना संक्रमणमुक्त भएका थिए भने १२ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?