ओली प्रचण्डबीचको भेटघाटले पायो निरन्तरता : छलफल कर्णाली केन्द्रित !

काठमाडौ । बुधवार पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको भेटघाटले निरन्तरता पाएको छ ।

पार्टीको आन्तरिक समस्या देखि रिक्त रहेका विभिन्न नियुक्तिहरुका विषयमा निरन्तर छलफलमा रहेका प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटघाट तथा छलफल भएको हो ।

मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम, रिक्त संवैधानिक नियुक्तीका विषयमा निरन्तर छलफल भएपनि बुधवारको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावका विषयमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि एकाएक तातेको नेकपा भित्रको राजनीतिक माहोल मंगलवार सम्म आपुग्दा विवाद समाधान उन्मुख देखिएको छ ।

यसअघि मंगलवार बसेको ओली प्रचण्डबीचको बैठकले मुख्यमन्त्री शाहीसहित निवर्तमान नेकपा प्रदेश प्रमुख सचेतक गुलावजंग शाह र संसदीय दलका नेता यमलाल कर्णलाई काठमाडौं बोलाई छलफल गर्ने भएपछि विवाद केही मत्थर भएको हो ।

आजको बैठकमा अध्यक्षद्वयले कर्णाली प्रदेशको विषयमा केन्द्रीत रही अन्य बाँकी विषयहरुमा समेत छलफल गरिएको हुनसक्ने स्रोतको दावी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?