नेपालमा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ७०.३ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३१ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार ६६६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६४९ जना छन् । तिमध्ये ३२९ जना संक्रमितको आईसियु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६१३ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन र सुर्खेत गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले स्थिती अझ भयावह बन्दै गएको भन्दै थप सचेतना अपनाउन अनुरोध गरेको छ ।

हिजो (शनिवार) नेपालमा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार २२९ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?