काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले किसानको सुनिश्चित बचत नभएसम्म कृषिको दिगो विकास नहुने बताएका छन् ।
कृषि मन्त्रालय अन्तर्गतका कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आइतवार संयुक्त रुपमा आयोजना गरेको ४० औं विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास नहुने बताए ।
‘बचतको अर्थ किसानलाई धेरै फाइदा दिनुपर्छ भनेको होइन तर उसको जीवनधान्न सक्ने हुनुपर्छ,’ मन्त्री भुसालले भने, ‘कृषिले उसको जीवन धानेर भने उसले कृषि पेशा छोड्छ र अन्यत्र मोडिन्छ । यसले कृषि पेशा सुनिश्चित हुँदैन ।’ खाद्य दिवस मनाइरहँदा विश्वका अर्बो मानिसहरू किन खाद्य संकटको वरिपरी रहेका छन् भन्ने कृरा विर्सन नहुने मन्त्री भुसालले बताए । दिगो कृषि प्रणाली अपनाउन किसानको बचत सुनिश्ति गर्ने गरी मन्त्रालयको काम गरिरहेको उनको भनाइ छ ।
‘हामीले किसानको तथ्यांक लिने, कृषि नीति, ऐन, नियमावली बनाउँदै छौं, यो पक्कै पनि किसानको हितमा हुनेछ भन्ने छ,’ उनले भने । उनले कृषिलाई ४० वर्षको अवधिमा धेरै मेहनतको साथ विगारेको बताउँदै विदेशीबाट प्राप्त सहयोगले गर्दा कृषिमा आफ्नोपना नदेखिएको बताए । कृषिमा ३० वर्षसम्म विदेशीहरुको सहयोग रह्यो, जसमा विदेशका थुप्रै नीति र योजनाहरु लागु भयो जो कही राम्रो पनि गरेको छ कहि त्यति राम्रो गरेको छैन, उनले भने, कृषिलाई आफ्नो इतिहास, परम्परा र सँस्कृति अनुसार कृषिलाई दिगो बनाउनुपर्छ ।’
कृषकले बाटोमा दुध किन फ्याल्छन्, किन टमाटर फ्याल्छन् यो गहिरो अध्ययनको विषय रहेको बताउँदै उनले अंक वृद्धि तथा नाफा कमाउन सोचले मान्छेको अवमूल्यन हुन थालेको बताए । मान्छेले नाफा कमाउन मात्र सोच्छन्, वृद्धिका लागि मात्र सोच्छन् जसले गर्दा मान्छेको अवमूल्यन भएको उनले बताए ।
कार्यक्रममा कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माले कृषिलाई बाच्य राख्न चुनौती रहेको बताए । आत्मनिर्भर हुने तरिकाले कृषि प्रणालीको विकास गरी यसमा रोजगारी सृर्जना गर्नुपर्ने बताउँदै उनले रैथाने बालीलाई प्रमोट गरी पोषिलो खानेकुराको उत्पादन बढाउँदै लैजान पर्ने बताए । सप्ताहव्यापी रूपमा मनाइने ४० औं विश्व खाद्य दिवस कार्यक्रम आजबाट सुरू भएको छ । यस वर्षको नारा हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ रहेको छ ।
कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले अब खाद्य स्वच्छता मात्र होइन पोषिलो खानामा पनि जोडदिनुपर्ने बताए । अब खाद्यान्न उत्पादनमा मात्र जोड नदिएर पोसिलो खाद्यान्नको उत्पादन कसरी हुन्छ त्यस कुरामा पनि ध्यान दिनुपर्ने कुरा उजले जोड दिए । उनले भने, जसलाई हामी खाद्यान्न दिन्छौ त्यो स्वच्छ र पोषिलो हुनेपर्छ अनि मात्र दिगो कृषि सफल हुन्छ ।’ कृषिमा दिगो विकासका लागि किसानको वचत सुनिश्चित हुनुपर्ने कुरामा पनि उनले जोड दिए ।
खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले कोरोनाका कारण कृषिलाई हेर्ने दृष्टिमा फरक परेको बताए । कोरोनाका कारण कृषि उत्पादनमा कमी आउने बताउँदै उनले यसलाई अवसरको रुपमा लिनुपर्ने बताए । खाद्य सुरक्षाका लागि रसायनिक मल, विषादीलाई नियन्त्रण गर्नुपर्ने कुरामा पनि उनले जोड दिए । उनले कोरोनाले गर्दा कृषि क्षेत्रमा निकै प्रभाव पारेको छ तर यसलाई कृषि विकासका लागि अवसरको रुपमा पनि लिनुपर्ने बताए ।
कार्यक्रममा कृषि अभियन्ता सोनाम साथी, राष्ट्रिय भुमी अधिकार मञ्चका सरस्वती सुव्वा लगायतले आआफ्नो धारणा राखेका थिए । यो दिवस विभिन्न कार्यक्रम गरि ३० गतेसम्म मनाइने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया