५ हजार कोरोना संक्रमित थपिँदा १२ सय मात्रै डिस्चार्ज !

काठमाडौं । नेपालमा थप १ हजार २ सय २९ जना कोरोना मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव २ प्रतिशत हो ।

पछिल्लो समय कोरोना संक्रमण मुक्त हुने भन्दा संक्रमितको संख्या बढिरहेको छ । आज नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाको कारण थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १९ हजार ३२० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार १६४ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६५४ जना छन् । तिमध्ये ३२१ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ४ हजार ६८६ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सुनसरी, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत र बाँके गरि ९ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार मनाङ र मुस्ताङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

हिजो (शुक्रवार) नेपालमा २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ६८० जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?