कोरोनाको महामारीमा पनि नाटक घर निर्माण

झापा । विर्तामोड नगरपालिकामा ‘झापा नाटक घर’ कोरोना (कोभिड १९) को महामारीले सताइरहेकै बेलमा पनि धमाधम निर्माण अगाडि बढाइएको छ । प्रदेश नम्बर १ कै ठूलो र अत्याधुनिक नाटक घर निर्माणमा प्रदेश सरकार, स्थानीय सरकार, संघीय सांसद र प्रदेश सभासदस्यसहित विभिन्न दाताहरुबाट एक करोड १५ लाख जम्मा भएको छ ।

उक्त नगरपालिका–१ पञ्चकन्या क्षेत्रमा निर्माण भइरहेको नाटक घरलाई प्रदेश नम्बर १ को सरकारले ४० लाख, सोही नगरपालिकाले १० लाख, संघीय सांसद पवित्रा निरौला खरेलले सांसद विकास कोषबाट १५ लाख, प्रदेश सभासदस्य एकराज कार्कीले १० लाख, सहारा नेपालले १० लाख प्रदान गरेका थिए । नाटक घर निर्माण समितिका सचिव माधव कल्पितले बाँकी रकम समितिले चलाएको एक व्यक्ति एक ईंटा सहयोग अभियानमार्फत विभिन्न सहकारी, र संघसंस्थाबाट जम्मा भएको बताए ।

दुई करोड ५० लाखमा निर्माण सम्पन्न हुने गरी बनाइएको भवनमा प्रेक्षालय, कलाकार आवास गृह, अतिथि आवास गृह, कार्यालय, शौचालय, भोजनालय निर्माण र रङ्गमञ्च हुने जानकारी दिँदै उनले गतबर्षदेखि निर्माण शुरु भएको नाटक घरको ४५ प्रतिशत काम सकिएको र आगामी एक वर्षभित्रमा सञ्चालनमा ल्याइने छ भने । सचिव कल्पितले भने, “प्रदेश र स्थानीय सरकारले सबै बजेट कोडिभ–१९ को रोकथाम र नियन्त्रणका लागि छुट्याइएको हुँदा निर्माणमा समस्या भइरहेको छ । शिलान्यासको एक बर्षमा सक्ने गरी शुरु गरिएको कार्य कोडिभ–१९ का कारण प्रभावित बन्यो, बजेट अभावमा निर्माण सम्पन्न गर्न अब एक वर्ष लाग्ने भयो ।”

स्थानीय मनोज निरौलाले दान दिएको साढे तीन कठ्ठा जग्गामा थप १० कठ्ठा जग्गा लिजमा लिएर नाटक घर तथा बहुजातीय सङ्ग्रहालयको निर्माण थालिएको र भवन निर्माण भए लगत्तै बहुबर्षीय योजना बनाएर बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक संग्रहालय निर्माण शुरु गरिने भएको छ । २५ करोडको लागतमा निर्माण गरिने हुने संग्रालयको डिपीआर तयार भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?