कुवेतका अमिरको निधनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिद्धारा दुःख व्यक्त

बेइजिङ । कुवेतका अमिर शेख सबाह अल अहमद अल सबाहको निधनप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमिर अल सबाहको निधनबाट आफूलाई निकै दुःख लागेको भन्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उनले कुवेतका अमिरको निधनले आफूलाई र मेलानियालाई निकै दुःख लागेको छ भन्दै कुवेतका नागरिकहरुलाई समवेदन सन्देश पठाएका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा बताइएको छ । कुवेतका अमिरको ९१ वर्षको उमेरमा मंगलवार अमेरिकामा निधन भएको थियो ।

उनले अमेरिकाको एक अस्पतालमा उपचार गराइरहनुभएको थियो । उपचाररत सोही अस्पतालमा उनको निधन भएको बताइएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि कुवेतका अमिर अल सबाहको निधनमा दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति सिले उनको निधनबाट आफूलाई दुःख लागेको बताउनुभएको चीनको राजधानी बेइजिङबाट चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । कुवेतका सरकारी सञ्चारमाध्यमले यहाँका अमिर अल सबाहको निधन भएको समाचार बुधवार मात्र सार्वजनिक गरेका बताइएको छ । उनी ९१ वर्षका थिए ।

उनको निधनपछि उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल अहमदलाई कुवेतको मन्त्रिपरिषदले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ ।गएको जुलाई महिनामा अमिर शेख सबाह उपचारका लागि अमेरिका गएका थिए । त्यसपछि पनि लामो समयसम्म उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन ।

अमिर अल सबाह कुवेतमा सन् २००६ देखि सत्तामा रहेका थिए । उनले करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिलासम्बन्धी क्षेत्रमा रहेर काम गरेको समाचारमा जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?