मास्क सिलाउन व्यस्त महिला

बनेपा । धुलिखेल नगरपालिका–६ का सुनिता कर्माचार्य व्याञ्जु अहिले मास्क सिलाउन व्यस्त छिन् । बिहानदेखि बेलुकासम्ममा उनले करिब ७०/८० सम्म मास्क सिलाउँछिन् । एक हप्ता अगाडिदेखि उनले दैनिक रुपमा त्यसरी नै मास्क सिलाउँदै आएकी छन् ।

यसअघि उनले पुनः प्रयोगमा ल्याउन मिल्ने स्यानेटरी प्याड सिलाउने गर्नुहुन्थ्यो । पछिल्लो समयमा कोरोना कोभिड–१९ का कारण मास्कको माग बढी भएपछि अहिले मास्क सिलाउने काममा लागिरहेकी हुन् । धुलिखेल उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा मास्क उत्पादनको कार्यलाई अगाडि बढाएपछि उनी मास्क सिलाउने काममा व्यस्त छिन्। पहिला पनि सिलाइ नै गरिरहनुभएकी उनले उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्न सिलाइको काम थालनी गरेपछि त्यतातिर लागेको बताइन् ।

धुलिखेल नगरपालिका–७ का यशोधा श्रेष्ठ उत्पादन गरेको मास्क फिनिसिङ गर्ने र प्याकिङ गर्ने काम गर्छिन् । सबै जनाले एक हप्ताको तालीम लिएपछि निरन्तर मास्क सिलाइको काममा लाग्दै आएको उनले बताइन् । शुरुमा दिनको दुई÷तीन सय उत्पादन भएको थियो । अहिले पाँच सयदेखि ५५० पिससम्म उत्पादन भएको छ । उत्पादन भएको मास्क अस्पताल र अन्य ठाउँमा बिक्री गर्ने गर्नुहुन्छ । उनले भनिन्,“निरन्तर रुपमा १३ जनाले काम गर्दै आएकी छन् ।” धुलिखेल नगरपालिकाभित्रका विभिन्न वडाका महिला बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सिलाइमा व्यस्त छन् । बिहान बेलुका घरको काम गर्ने र दिउँसो मास्क सिलाइ गरेर आम्दनी गर्दै आएको उनीहरुको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घले मास्क उत्पादन गर्ने कार्यलाई अगाडि बढाएपछि अहिले उहाँ जस्तै १३ जना महिला निरन्तर सो काममा लागिरहेका छन् । त्यसको लागि आवश्यक व्यवस्थापन धुलिखेल उद्योग वाणिज्य सङ्घले गरिरहेको छ । उनीहरुले सर्जिकल मास्क र एन ९५ गरी दुई थरिको मास्क उत्पादन गरिरहनुभएको छ । मागको आधारमा काम गर्ने उनीहरुले कहिले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) त कहिले मास्क सिलाइ गर्दै आएका छन् ।

धुलिखेल उद्योग वाणिज्य सङ्घका अध्यक्ष मञ्जुकुमार कोजूले कोरोनाका कारण मास्कको माग धेरै भएपछि आफ्नै स्थानीय उत्पादनबाट रोजगार पनि हुने र समयको पनि सही सदुपयोग हुने भएकाले मास्क उत्पादन कार्यलाई व्यवस्थापन गर्दै आएको बताइन् । उत्पादन भएका बस्तु काठमाडौं विश्वविद्यालय र अस्तापलले खरिद गर्ने सहमति गरेपछि अहिले उत्पादन भएको पिपिइ र मास्क काठमाडौं विश्वविद्यालयले नै खरिद गर्दै आएको उनले बताइन् ।

त्यसबाहेक बढी उत्पादन भएको बस्तुलाई केयू, रोटरी क्लब अफ धुलिखेल र उद्योग वाणिज्य सङ्घको सहकार्यमा नै बजारीकरण गर्ने सहमति भएकाले उत्पादन भएको सामग्री बिक्री नभइ समस्या आउने अवस्था नरहेको अध्यक्ष कोजुले बताइन् । होटल, विद्यालयलगायत सङ्घ÷संस्थासँग सहकार्य गरेर उत्पादन भएको वस्तुलाई बजारीकरणका लागि कुनै समस्या नहुने उनको भनाइ छ । त्यसको लागि बजारमा प्रतिस्पर्धाको रुपमा जानसक्ने गरी काम गर्न वाणिज्य सङ्घले आवश्यक समन्वयको काम गरिरहेको छ ।

अहिलेसम्म कच्चापदार्थ काठमाडौं विश्वविद्यालयले उपलब्ध गराउँदै आएको छ । यसअघि पनि सङ्घले मासिक नौ हजार तलब दिएर स्यानेटरी प्याड उत्पादन गर्दै आएको थियो । अहिले भने मासिक तलब निर्धारण गर्न बाँकी रहेको सङ्घले जनाएको छ । महिलाको रोजगारीलाई निरन्तरता दिनका लागि अब भोलिको दिनमा एप्रोन, विद्यालयका पोशाकसमेत सिलाइ गर्ने उद्देश्य रहेको सङ्घका अध्यक्ष कोजुले बताइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?