काठमाडौं । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा थप बढेका छन् ।
बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएकै कारण दोस्रो सातामा शो सङ्ख्या र दर्शकको चाँप बढेको छ । दोस्रो साताको शुक्रबार र शनिबार पहिलो साताको तुलनामा व्यापार पनि बढेको निर्माता म्याक्स दीपेश खत्रीले बताए ।
उनले भने, ‘दोस्रो सातामा प्रवेश गरेपछि हामीसँग सो सङ्ख्यासँगै दर्शकको उपस्थिति पनि बढी छ । पहिलो साता भन्दा दोस्रो सातामा दर्शकको उपस्थिति बढ्नुले हाम्रो फिल्मलाई दर्शक सन्तुष्ट छन् र आफैँले प्रचार गरिरहेका छन् भन्ने प्रमाणित गर्छ । दर्शकले फिल्ममा देखाईएको आमाको सङ्घर्षलाई रिलेट गरेका छन्, धेरै दर्शक रोएको पाएका छौँ ।’
उनले बादी समुदायकै अभियन्ताले समेत फिल्म हेरेपछि तारिफ गरिरहेको बताए ।
उनका अनुसार आइतबार नेपालभर फिल्मले २ सय २७ शो पाएको छ, यो अघिल्लो साताको तुलनामा बढी हो ।
फिल्ममा शिक्षाको ज्योतिले समुदायले आफ्नो अवस्था बदल्दै शासकविरुद्ध आवाज उठाउने प्रेरणा दिएको फिल्म हेर्नेले बताएका छन् । शनिबार हल भ्रमणकै क्रममा भेटिएकी चर्चित गीत ‘मकै बारी दर्याम दर्याम’ गायिका सुष्मा शाही ठकुरीले फिल्मका दृश्यले आफूलाई भावुक बनाएको बताइन् ।
उनले भनिन्, ‘फिल्मले देखाएको सङ्घर्ष हरेकको जीवनीसँग कनेक्ट हुन्छ, म पनि भएँ । फिल्ममा आमा बन्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काका केही दृश्यले मेरो आँशु झर्यो, म भावुक भएँ । फिल्मले महिला कसरी सङ्घर्ष गरेर सफल हुन्छिन् भन्ने देखाएको छ, म यतिकै हेर्न आएकी थिएँ । एउटा राम्रो फिल्म हेर्न पाएकोमा म खुसी छु ।’
उनी केही आफ्नो साथीसँग फिल्म हेर्न आएकी थिइन् । यस्तै, सुर्खेतबाट सुरू भएको मोफसल भ्रमण अन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा कार्यकारी निर्माता प्रदीप भट्टराईको समूह आज पोखरामा दर्शक भेटघाट गर्दै साक्षात्कार गरिरहेको छ । मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित रहेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन् ।
‘हामीले जसको कथा र व्यथा देखाएका छौँ, उहाँहरुले नै फिल्म हेरेपछि धन्यवाद दिनुभयो । हामीले गरेको काम र फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नु भएको छ, यो नै हाम्रो सफलता हो । हामी नेपालभरका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिन आतुर छौँ ।’
फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको कामको तारिफ भइरहेको छ । फिल्म हेरेर निस्किने दर्शकले दुवैको कामलाई निकै तारिफ गरेका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया