बोक्सी आरोपमा बर्बर यातना प्रकरण : नगर प्रमुख ममताप्रसादमाथि अनुसन्धान सुरु

धनगढी, २८ फागुन-कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्नेलाई उन्मुक्ति दिने घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि कारबाही प्रक्रिया सुरु भएको छ । चौधरीलाई उनको पार्टी नेकपा एमालेले तीन सदस्यीय छानबिन समिति बनाई कारबाही अघि बढाएको हो । पार्टीले उनलाई स्पष्टीकरण सोधेर घटनामा उनको संलग्नताबारे छानबिन गर्न समिति बनाएको हो, राजधानी दैनिकमा खबर छ । आइतबार पीडित राधाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सेती अञ्चल अस्पताल पुगेका नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दीर्घबहादुर सोडारीले जनप्रतिनिधिको मिलोमतोमा मिलापत्र गराईएको भन्ने जानकारी आएको भन्दै छानबिन समिति गठन गरेको बताए । जिल्ला पार्टी कार्यालय सचिव विमलकुमार जोशीको संयोजकत्वमा गठित छानबिन कार्यदलमा सचिवालय सदस्यद्वय केवालाल चौधरी र छाया थापा सदस्य छन् । एमालेले आफ्नो पार्टीका तर्फबाट निर्वाचित नगर प्रमुख चौधरी र वडा अध्यक्ष प्रेम रोकाया दोषी देखिएमा कारबाही गरिने बताए । गत बिहीबार स्थानीय युवती राधा चौधरीमाथि झा“क्री रामबहादुर चौधरीले दुव्र्यवहार गर्दा नगर प्रमुख चौधरी रमिते बनेको गुनासो आएपछि एमालेले उनीस“ग स्पष्टीकरण र अनुसन्धान अघि बढाएको हो । नगर प्रमुख चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा बुद्धिजीवी परिषद्का जिल्ला उपाध्यक्षसमेत हुन् । पार्टी कार्यालयका अनुसार नगर प्रमुख चौधरीले संलग्नताबारे अस्वीकार गरेका छन् । प्रधानमन्त्री कार्यालयले समेत अपराधीहरू छुटाउने कार्यमा संलग्नमाथि तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न सीडीयो कार्यालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?