काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ ।
प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकूलपति देवनारायण साहलेले कोभिड–१९ का कारण समयमा नै शवको व्यवस्थापन गर्न कठिन भएको बताए । सो दिन कारागार प्रशासनले राती १०ः५५ बजे ल्याउँदा नै उनको मृत्यु भएको पाइएको साहले जानकारी दिए ।
मृतककी छोरीले अर्को दिन बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा गरेकाले दिइएको उनले बताए । छोरीले बाबुको फोटो खिचेर हालेपछि त्यो भाइरल भएको थियो । उनले भने, “जेलले किन अस्पताल ल्याउन ढिलो ग¥यो भन्ने जवाफ वीर अस्पतालले भन्न सक्दैन ।”
अस्पतालमा शव गृह नहुँदा त्यसको व्यवस्थापन हुन नसकेको उपकुलपति साहले बताए । समाान्य अवस्थामा अस्पतालले केही समय रहने शवलाई त्रिवि शिक्षण अस्पतालको शव गृहमा पठाउने गरेको थियो । कोभिड–१९ का कारण अहिले पठाउन सकिएको छैन ।
आर्थिक अभावका कारण अस्पतालले विभिन्न किसिमका समस्या झेल्न बाध्य भइरहेको उपकुलपति साहले बताए । पहिले अस्पतालको आन्तरिक स्रोतबाट नै प्रतिष्ठान र अस्पतालका कर्मचारीलाई तलब खुवाउने गरे पनि कोरोनाका कारण आन्तरिक स्रोत बन्द भएको छ । यसले गर्दा करारका कर्मचारीलाई तलब खुवाउन र दैनिक आवश्यक सामग्री खरिदमा समेत समस्या भएको उनको भनाइ छ । उनले भने, “समयमा तलब भत्ता दिन नसकेकाले हामी दैनिक कर्मचारी युनियनबाट घेरिइरहेका छौँ ।”
अस्पतालका स्वास्थ्यकर्मीमध्ये अहिले ६० जना संक्रमित भएकाले आइसोलेसनमा छन् । अहिलेसम्म एक सय जना सङ्क्रमित भइसकेको उनले जानकारी दिए । देशको सबैभन्दा जेठो र सबैभन्दा बढी चाप भएको सो अस्पतालमा बिरामीको उपचारमा वेवास्ता गरेको भए यी स्वास्थ्यकर्मी संक्रमित हुने अवस्था नआउने उनले बताए।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले अहिलेसम्म जोखिम भत्ता लिएका छैनन् । उनले भने, “हामीले अहिले केही दिनको मात्रै भत्ता दिनसक्ने अवस्था छ, तर उहाँहरु त्यो लिन मान्नुभएको छैन ।” अस्पतालमा हुनुपर्ने जति सफाई नभएको उपकुलपति साहले स्वीकार गरे । अस्पतालको ढल सडक मुनिबाट लगिएको र एक घण्टा वर्षा हुँदा पनि भित्रै पानी आउने गरेको छ । यस विषयमा महानगरपालिकासँग पनि पटक पटक कुराकानी भएको उनले बताए । उहाँले भने, “महानगरले केही प्रयास गरे पनि पूर्णरुपमा व्यवस्थापन हुन सकेको छैन ।”
समिति सभापति जयपूरी घर्तीले अस्पतालमा अहिलेसम्म पनि शव गृह नहुनु गम्भिर विषय भएको बताए । स्रोतको कसरी ठीक तरीकाले व्यवस्थापन गर्ने भन्नेमा अस्पताल प्रशासनले ध्यान दिनुपर्ने उनको भनाइ थियो । समितिले स्वास्थ्यका बिषयमा नियमित छलफल गरिरहेको उनले जानकारी गराए।
समितिकी सदस्य अञ्जना बिसङ्खेले जैसवालको मृत्युका बारेमा फैलिएको हल्लाका बारेमा सत्यतथ्य आउनुपर्नेमा जोड दिए । समिति सदस्य खगराज अधिकारीले अस्पतालले आगामी दिनमा शौचालयदेखि यहाँको शव व्यवस्थापनसम्मको विषयमा ध्यान दिनुपर्ने औँल्याए।
समितिलाई आज नै कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । उपसमितिले काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पताललगायत सरोकार राख्ने निकायका प्रतिनिधिसँग भेटेर र स्थलगत अध्ययन गरेर प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । उपसमितिले आगामी दिनमा उपत्यका बाहिरसमेत पुगेर त्यहाँको कोभिडको उपचारका अवस्थाका बारेमा अध्ययन गर्ने भएको छ ।
प्रतिबेदनमा कोभिड–१९ को पिसिआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबलाई एकीकृतरुपमा समन्वय गर्नुपर्ने सुझाव दिइएको छ । जनशक्ति व्यवस्थापन गरी पिसीआर ल्याबलाई पूरा समय काम गर्ने र पिसीआर रिपोर्ट छिटोछरितो उपलब्ध गराउन पनि निर्देशन गरिएको छ । कोभिड आइसोलेसनका लागि स्विकृती दिँदा मापदण्डसहितको खानेकुराको ‘मेनु’ तयार गरी सम्झौता गर्न भनिएको छ । त्यस्तै, होम आइसोलेसनमा रहेका संक्रमितलाई पनि स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने उल्लेख छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया