कोरोनाबाट काठमाडौंका १६ वर्षीय युवकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ३ जना रहेका छन् ।

अन्यमा झापाका ८६ वर्षीय पुरुष, सिराहाका ५० वर्षीय पुरुष, काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय पुरुष, ललितपुरका ७४ वर्षीय पुरुष, बदिर्याका ६४ र ३९ वर्षीय पुरुष गरि १ महिला र ६ जना पुरुषको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । यो भनेको कुल संक्रमितको ०.६४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ४४९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनासहित देशभर ४२६ महिला र ७४६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७३.७ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ९ हजार १८६ जना र संस्थागत आईसोलेसनमा ८ हजार २२८ जना छन् । तिमध्ये २२० जना संक्रमितको आईसियु र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १०४ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन गरि ७ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ७ जनाले ज्यान गुमाएका छन् ।

हिजो (मंगलवार) नेपालमा १ हजार ३५६ जनामा संक्रमण पुष्टि भएको थियो । ८२३ जना संक्रमणमुक्त भएका थिए भने २ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?