भक्तपुरका ७४ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा मात्रै एकैपटक थप ७४जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा सोमवार थपिएका ६७४ जना कोरोना संक्रमित मध्ये ७४ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार ५३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनासहित देशभर ४१८ महिला र ७३६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार ६११ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ६९० जना र संस्थागत आईसोलेसनमा ८ हजार ९२१ जना छन् । तिमध्ये १९६ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ४०३ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १६ जनाले ज्यान गुमाएका छन् ।

हिजो आईतवार नेपालमा १ हजार ३२५ जनामा संक्रमण पुष्टि भएको थियो । ९६६ जना संक्रमणमुक्त भएका थिए भने १० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?