उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा थपिए सबैभन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५३८ जना, भक्तपुरमा ७४ जना र ललितपुरमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकमध्ये १३ जना पुरुष र ३ जना महिला रहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज थपिएका मृतक हालसम्मकै उच्च हो । हिजो(आइतवार) मात्र थप १० जनाको कोरोनाको कारण मृत्यु भएको थियो ।

हाल नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै हालसम्म कुल संक्रमितमध्ये ७२ प्रतिशत अर्थात ४७ हजार २ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ५ जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?