सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित अमर्त्य पोलिक्लिनिकमा भदौ १२ मा शल्यक्रिया गरिएको चार दिनपछि मलंगवा–१० की २४ वर्षीया सुत्केरी ‘सविता’ भनिने सहती कुमारीको मृत्यु भयो । पोलिक्लिनिकले बहिरंग सेवा सञ्चालनका लागि मात्रै स्वीकृति लिएको छ । तर त्यहाँ जटिल खालका शल्यक्रियासमेत गरिँदै आएको छ । थप सुविधासमेत केही छैन ।
स्वीकृतिबिनै सञ्चालनमा रहेको पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सहतीको मृत्यु भएको भन्दै उनकी अमाजु दुलारी देवीले भदौ १९ मा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष घटनाबारे छानबिन र क्षतिपूर्ति माग गर्दै ठाडो उजुरी दिइन् । तर, दुई दिन नबित्दै उनले उजुरी फिर्ता लिएको व्यहोरासहितको अर्को निवेदन दिइन् । निवेदनमा आवेशमा आएर उजुरी दिएकाले फिर्ता लिएको उल्लेख थियो ।
पीडितले न्यायका लागि उजुरी दिएपछि पीडक पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्र यादव पक्षले धाकधम्की र प्रलोभन देखाएको थियो । तर कुरा नमिलेपछि सहतीकै घरमा पञ्चायती डाकियो । सहतीका श्रीमान् किरियामा बसेकाले पनि उनकै घरमा पञ्चायती बसेको थियो । जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी र नगर प्रमुख निर्सल साह उपस्थित पञ्चायतीमा अन्य राजनीतिक दलका प्रतिनिधिसमेत थिए ।
पीडितको पक्षबाट दुई जना छिमेकी मात्र बसे । घटना मिलाउन बसेको पञ्चायतीले ६७ हजार रुपैयाँबाट सुरु भएको मोलमोलाइ पोलिक्लिनिकमा लागेको उपचार खर्च ४७ हजार रुपैयाँ फिर्ता दिने र पीडितलाई थप दुई लाख १ हजार रुपैयाँ क्षतिपूर्ति दिने
निर्णय सुनायो । पञ्चायतीबाट गरिएको निर्णय मान्नुपर्नेबाहेक पीडितसँग अर्को विकल्प थिएन । पञ्चायती सुरु हुनुअघि नै दुवै पक्षले पञ्चले गरेको निर्णय मान्नुपर्ने भन्दै सहीछाप गर्न लगाएको समेत खुलेको छ । आर्थिक र पहुँचका आधारमा अत्यन्त कमजोर रहेकाले डराएर उजुरी दिएका पीडित पक्ष अन्ततः पञ्चको निर्णयमा चित्त बुझाउँदै उजुरी फिर्ता लिन सहमत भए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया