भक्तपुरका ८३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा मात्रै एकैपटक थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार काठमाडौं उपत्यकामा थपिएका ७११ जना कोरोना संक्रमित मध्ये ८३ जना कोरोना संक्रमित भक्तपुर जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनासहित देशभर ४०८ महिला र ७९६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १७ हजार १२९ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ९७६ जना र संस्थागत आईसोलेसनमा ९ हजार १५३ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ७३५ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन र रुपन्देही गरि ९ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको हो ।

हिजो शुक्रवार नेपालमा २ हजार २० जनामा संक्रमण पुष्टि भएको थियो । ८७१ जना संक्रमणमुक्त भएका थिए भने ७ जनाको मृत्यु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?