ललितपुर । गोदावरी उद्योग वाणिज्य सङ्घले व्यापार तथा व्यवसाय पदोन्नतिका लागि ‘बिजनेस क्लिनिक’ सञ्चालनमा ल्याएको छ । गोदावरी नगरपालिका–११ चापागाउँमा रहेको सङ्घ कार्यालयमा आज सो क्लिनिक शुरु गरिएको हो ।
नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले क्लिनिकको उद्घाटन गर्दै यसले नगरभर उद्योग गर्ने वा गरिरहेका व्यक्तिलाई निकै सहयोग गर्ने बताए। उनले भने, “यस अवधारणाको सहायताले मानिसमा अब म केही गर्छु भन्ने मनोबल बढाउने छ ।” हरेक मानिसमा केही गरेर पैसा कमाउने सोच हुने हुँदा क्लिनिकले सफलता दिलाउन अहम् भूमिका खेल्ने महर्जनको बुझाइ छ ।
वडा नं ११ का वडाध्यक्ष नीलबहादुर देशारले चापागाउँ ललितपुरको तीन गाउँपालिकाका साथै गोदावरीको समेत मुख्य बिन्दु रहँदा क्लिनिकको प्रयोग ललितपुरको चार पालिकाका वासिन्दाले सजिलै पूर्णरुपमा गर्न सक्ने भनाइ राखे । गोदावरी इकोनमी फोरमका संयोजक डा रघुवीर विष्टले गोदावरीमा थुप्रै स्रोतसाधन रहँदा यसको विकासमा क्लिनिकले ज्ञान आदानप्रदान गर्न र अन्योल हटाउन मद्दत गर्ने दाबी गरे ।
सङ्घका अध्यक्ष जगनाथ महर्जनले विभिन्न कारणवश व्यवसायमा समस्या भोगिरहेका वा अझ यसलाई थप माथि पु¥याउन चाहने व्यक्तिलाई सम्पर्क गरेर अघि बढ्न अनुरोध गरे। उनले भने, “हामीसँग व्यवसाय सम्बन्धित विज्ञ हुँदा छलफल गरेर व्यापारमा अघि बढ्नु नै फलदायी हुनेछ ।” क्लिनिकमा कानूनविद्, व्यवस्थापन परामर्शदाता, चार्टर्ड एकाउन्टेन्ट र बजार विशेषज्ञले राय र सल्लाह दिने व्यवस्था गरिसकेको महर्जनले जानकारी गराए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया