पुनर्नियुक्तिको लागि भइरहेको प्रदर्शनबारे बोले कुलमान घिसिङ

काठमाडौं – चार वर्षे कार्यकाल पूरा गरी गत साता नेपाल विद्युत प्राधिकरणबाट बिदाई भएका कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै संघीय राजधानी काठमाडौं उपत्यकासहित देश र विदेशमा समेत दबाबमूलक प्रर्दशन भएका छन् ।

यसैबीच प्राधिकरणका निवर्तमान प्रमुख घिसिङले यस्ता गतिवीधितर्फ गम्भिर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती जारी गर्दै प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्ने बताएका छन् । उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९का कारण नेपाल पनि आक्रान्त भएको बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई अनुरोध गरेका छन् ।

के छ ? उनको विज्ञप्तीमा हेर्नुहोस् (पूर्ण विज्ञप्ती)

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड – १९ का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

कुलमान घिसिङ

निवर्तमान कार्यकारी निर्देशक

नेपाल विद्युत प्राधिकरण

२०७७/०६/०३ शनिबार

काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?