घरबेटीले डेरावालालाई दुख दिएको भन्दै गृह र स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र

काठमाडौं । नेपाल डेरावाल समाजले घरबेटीहरुले डेरावालहरुलाई विभिन्न बहानामा दुःख दिने गरेको भन्दै गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

कोरोना महामारीले सिर्जित डेरावालको समस्या समाधानको माग गर्दै समाजले बिहीबार स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयमा अनलाइनबाट ज्ञापनपत्रमार्फत ध्यानकर्षण गराएको समाजका संयोजक भुवन थापाले जानकारी दिए ।

समाजले विगत ६ महिनादेखि पटकपटक कायम रहेको लकडाउन र निषेधाज्ञा तथा कोरोनाको महामारीका कारणले धेरै श्रमिकको रोजीरोटी गुमेको तथा अधिकांश व्यवसाय बन्द हुँदा डेरामा बस्ने र व्यवसाय गर्नेलाई कोठा भाडा तिर्न समस्या भइरहेका बेला डेरावालको हत्या गर्नेजस्ता जघन्य अपराध गरिएको जनाएको छ ।

‘समयमा डेरा भाडा तिर्न नसक्दा कतै डेरावालको हत्या गर्नेसम्म जघन्य अपराध गरिएको छ भने कतै डेरावाललाइ भाडा नतिरेको भनेर कुटपिट भएको छ’, समाजले भनेको छ, ‘घरभाडा तिर्न नसकेको वा बाहिरी ठाउँबाट आएको भनेर भनेर कतिपय डेरावाललाइ घरबेटीले आफ्नो कोठामा डेरावाललाइ प्रवेश नदिएको सयौं गुनासो हामीसामु आइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?