दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा-२ चाल्नेचौतारामा डेरीको उद्घाटन भएको छ । सृजन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाद्वारा संचालित दुग्ध डेरी उद्योग गएको साउन महिनाबाट संचालनमा आएपनि औपचारिक रूपमा शुक्रबार उद्घाटन गरिएको हो ।
कर्णाली प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखबाट १ करोड, चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट ३१ लाख, सृजन चामुण्डामाई बहुद्देश्यीय सहकारीबाट ३० लाख र सुर्खेत डेरीबाट प्राप्त भएको ६ लाखसहित १ करोड ६७ लाख लागतमा डेरी स्थापना भएको हो । डेरीले स्थानीय दूध संकलन गरि सुर्खेतमा ल्याएर बिक्रि गर्ने गर्छ ।
उद्योगको उद्घाटन कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाही र उपप्रमुख तारा शाही लगायतले संयुक्त रूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले किसानको आयआर्जन बढ्ने गतिविधि संचालन गरेकोमा सहकारी संस्थालाई धन्यवाद दिए । उनले आगामी दिनमा आफूहरूले सहकारी र किसानलाई भरपुर सहयोग गर्न तयार रहेको बताउँदै किसानका उत्पादनको बजारीकरण गर्न सडक पुर्वाधार विकासमा ध्यान दिइने बताए ।
उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले किसानका उत्पादनको बजारीकरण तीनवटै तका सरकार मिलेर गर्नुपर्ने बताएकी छन् ।
मन्त्री केसीले प्रदेश सरकारले गरेको लगानीमा नागरिकलाई फाइदा हुनेगरी प्रतिफल दिदा निकै उत्साअित भएर चामुण्डा पुगेको बताइन् । “किसानले भैंसी पालेर जब दूध दिन सुरु गर्छ । त्यतिबेला उ उत्साहित भएर राम्रो राम्रो घाँस खोज्न जान्छ ।” उनले भनिन्, “हामीले गरेको लगानीमा नागरिकको गोजीमा पैसा पर्ने प्रतिफल आउँदा मलाई कतिबेला यहाँ पुगुला लागेको थियो ।” उनले किसान र कृषि पेसालाई सबैले सम्मानित पेसाको रूपमा बुझ्न आग्रहसमेत गरिन् ।
अब चामुण्डाबाट दैनिक हजारौं लिटर दूध बेच्न सुर्खेत लैजानुपर्ने बताउँदै मन्त्री केसीले सहकारीको सक्रियताले सरकारको लगानीले प्रतिफल दिएकोले संस्थालाई धन्यवाद व्यक्त गरिन् । उनले किसानलाई दुधमात्र नभई भैसिको गोबरबाट तरकारी र अन्य नगदेबाली उत्पादन गर्न आग्रह गर्दै आफुहरूले किसानलाई पुरसकृत गरेको बताइन् । साथै अब किसानलाई पेन्सन, किसानका उत्पानको बीमा लगायत, न्युनतम लागत मुल्य किसानलाई दिने लगायत कार्यक्रम गरिनेसमेत बताइन् ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले सहकारीको प्रसंसनिय सक्रियताको लागि धन्यवाद दिए । त्यस्तै चामुण्डाबिन्द्रासैनी नगरपालिकाका उपप्रमुख तारा शाहीले नागरिकको जनजिविका र आयआर्जन बढाउनसक्ने उद्योग नगरपालिकामा संचालन जरूरी रहेको बताइन् ।
राष्ट्रिय सहकारी बोर्डका सदस्य तथा उक्त सहकारीका अध्यक्ष भिमबहादुर रावतले किसानका उत्पादन र बजारबिचमा पुलको काम गर्ने बताए । उनले किसानलाई उत्पादन गर्न आग्रह गरे । “तपाइहरू ढुक्कसँग उत्पादन गर्नुहोस् । तपाइका उत्पादनको बजारीकरण हामी गर्नेछौं ।” उनले भने ।
अध्यक्ष रावतले किसानका उत्पादनको बजारीकरणको लागि तीन तहका सरकारले सडक पुर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउँदै प्रत्येक वडामा एउटा संकलन केन्द्र स्थापना जरुरी रहेको बताए । कृषिजन्य उत्पादनको दररेट नगरपालिकाले कायम गरिदिए सोही मुल्यमा खरिद गरि सहकारीले विक्रि गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया