रामपुर । खरका छाना भएका घरमा जस्तापाता लगाउने कार्य पाल्पामा धमाधम चलिरहेको छ । खरको छानो विस्थापन गरी जस्तापाता लगाउन स्थानीय सरकारले कार्यक्रम ल्याएपछि घर छाउन नसकेर बसेका विपन्न, गरिब तथा असहाय परिवारले अहिले जस्तापाताले घर छाएका छन् । रामपुर नगरपालिका, रम्भा, पूर्वखोला, माथागढीलगायत गाउँपालिकाले यसै वर्षभित्र खरको छानो लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुरुप कार्यक्रम सञ्चालन गरिहेका छन् । खरको छानो भएका घरमा स्थानीय तहले बजेट विनियोजन गरी यसै वर्ष सम्पन्न गर्ने लक्ष्यका साथ जस्तापाता उपलब्ध गराएका छन् ।
‘रामपुरको नगर, खररहित घर’ भन्ने नारासहित आर्थिक वर्ष ०७४र७५ देखि नगरपालिकाले जस्तापाता लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकामा खरका छाना भएका करीब आठ सय घरधुरीमा जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत हालसम्म ४३९ घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्य बताउँछन् । पहिलो वर्ष रामपुर नगरपालिकाले पचास लाख रकम विनियोजन गरी एक सय ४६ खरको छानो भएका घरमा जस्तापाताको छानो उपलब्ध गराएको छ भने दोस्रो वर्ष नगरपालिकाले ५० लाख रकम छुट्याएर १३३ घरधुरीमा जस्तापाता वितरण गरिएको छ ।
तेस्रो वर्ष अर्थात् गत आर्थिक वर्षमा रामपुर नगरपालिकाको ५० लाख र प्रदेश सरकारको ५० लाख गरी एक करोडको वजेटमा १६० घरमा खरको छानो हटाएर जस्तापाताको छानो लगाइएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घर छाउन नसकेर खरकै छानामुनि बसोबास गरेका विपन्न परिवारलाई जस्तापाता निःशुल्क सहयोग पाएपछि ठूलो राहत मिलेको वसन्ती रानाले बताइन् । उनले रामपुर नगरपालिकाले उपलब्ध गराएको ५० हजार बराबरको जस्तापाता घरमा लगाएपछि चुहिने छानोबाट मुक्त भएको बताउछिन् ।
आव ०७७र७८ का लागि रामपुर नगरपालिकाले ‘जनताको अपेक्षा, मेयरको शुभेच्छा’ कार्यक्रम अन्तर्गत ८० लाख रकमबाट खरको छानो हटाएर जस्तापाताको छानो लगाइने कार्यक्रम रहेको समितिका सदस्य तथा कार्यपालिका सदस्य सावित्रा गौतमले बताइन् । उनले भनिन्, “यस वर्ष नगरभित्रका खरका छाना भएका सबै घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न गर्ने योजनाअनुसार कामलाई तीव्र रुपमा अगाडि बढाएका छौँ, घरको क्षेत्रफल हेरेर आवश्यक पर्ने जस्तापाता वितरण गरिरहेका छौँ । तीन वर्षको अवधिमा नगरपालिकाले एक हजार ७१६ बण्डल जस्तापाता वितरण गरेको छ ।”
रम्भा गाउँपालिकाले गत वर्षदेखि शुरु गरेको खररहितको घर भन्ने कार्यक्रम यस वर्ष पनि निरन्तरता दिएर आउँदो असार मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । खरका छानो भएका २८३ घरधुरीमध्ये गत वर्ष २२० घरमा जस्तापाता लगाउने कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। गत वर्षा ५६ लाख बराबरको बजेटबाट जस्तापाता लगाइएको छ भने यस वर्ष ६३ खरका छाना भएका घरमा सङ्घीय सरकारको सहयोगमा करीब २० लाखदेखि २२ लाखको लागतमा जस्तापाता लगाउने कार्यक्रम रहेको अध्यक्ष भण्डारी बताउछन् ।
माथागढी गाउँपालिकामा जम्मा पाँच हजार २४० घरमध्ये चार हजार ६७ जस्तापाता, पक्की ८५३, खरका छाना भएका ६२३ र टायल लगाएका ३२ घर छन् । यहाँ खरका छाना हटाएर जस्तापाता लगाउने कार्य आर्थिक वर्ष ०७४र७५ देखि शुरु भएको हो ।
तीन वर्षमा ४०० घरधुरीमा जस्तापाता लगाउने कार्य सम्पन्न भइसकेको छ भने यस वर्ष सङ्घीय सरकारको सहयोगमा बाँकी २२३ घरधुरीमा जस्तापाता लगाएर खरको छानोमुक्त गाउँपालिका घोषणा गर्ने गरी धमाधम कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिएका छन् । यस वर्ष गाउँपालिकाको ३० लाख बजेट विनियोजन गरिएको छ ।
पूर्वखोला गाउँपालिकाले पनि यसै आर्थिक वर्षमा खरको छानोरहित गाउँपालिका घोषणा गर्ने जनाएको छ । खरका छाना भएका ५५३ घरधुरीमध्ये बाँकी २१६ घरमा जस्तापाता लगाउने कार्यक्रम रहेको सूचना अधिकारी मोहन ढकाल बताउछन् ।
बगनासकाली गाउँपालिकाले भने खरका छाना भएका २४९ घरमा जस्तापाता लगाउने कार्य गत आर्थिक वर्षको पुस मसान्तभित्र नै सम्पन्न गरिसकेको छ । गाउँपालिकाभित्र खरका छानालाई विस्थापित गरी ८० लाखको लागतमा जस्तापाता छाउने कार्य सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउछन् । यो जिल्लामै खरको छानोमुक्त पहिलो गाउँपालिका बनेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया